Listen LIVE

सत्तरी रोपनीमा अकबरे झपक्क

गुल्मी : गुल्मीको धुर्कोट गाउँपालिका–१, नयाँगाउँका ४३ वर्षीय चन्द्र ताम्राकार कामकै लागि १७ वर्षदेखि ओमनमा छन् । घरको बारीमा भने अकबरे खुर्सानी पाकेर राताम्मे छ । स्थायी सात र १५ जना मौसमी कामदारलाई अकबरे टिप्न भ्याइनभ्याइ छ । उनीहरू मासिक १२ देखि २५ हजार रुपैयाँ कमाउँछन् । अकबरेको बजार र मूल्य राम्रो भएकाले उनीहरूको तलब बाँकी हुँदैन ।

उनको बारीमा गत वर्षसम्म आठ हजार बोट अकबरे खुर्सानी थिए । अहिले बढाएर ३० हजार बोट पुर्याएका छन् । पाक्न बेर मात्रै हो, बजारको कुनै समस्या छैन । यो वर्ष अहिलेसम्म १५ क्विन्टल खुर्सानी बजार पुगिसकेको छ । 

ताम्राकारले अहिले करिब दुई सय क्विन्टल खुर्सानी बेचेर ४० देखि ५० लाख रुपियाँ कमाउने लक्ष्य राखेका छन् । उनले ओख्रेनी कृषि तथा पशुपन्छी फार्म सञ्चालन गरेर व्यावसायिक खुर्सानी खेती गर्न थालेको डेढ वर्ष भयो । गत वर्ष पनि प्रतिकिलो सरदर २५० रुपैयाँमा खुर्सानी बिक्री भएकाले करिब १२ लाख रुपैयाँ बराबरको कारोबार भएको ताम्राकारले जानकारी दिए । 

गुल्मीको मुख्य बजार बुटवल हो । अहिलेको सिजनमा पनि प्रतिकिलो सरदर २५० रुपैयाँमा खुर्सानी बिक्री भइरहेको छ । ताम्राकारले आफ्नो २७ रोपनी र छिमेकीका बाँझा जग्गा भाडामा लिएर ७० रोपनीमा खुर्सानी खेती, सुन्तला र केरा खेती गरेका छन् । ताम्राकार पानी जहाजको सेफ भएकाले दुई–दुई महिनामा घर बिदा पाइन्छ । अहिले उनी घर आएकै मेसोमा उनले सबै बेलिविस्तार लगाए । घरको कृषिकर्मको नेतृत्व श्रीमती मीना ताम्राकारले गरेकी छन् । लगानी, बजार र समग्र योजनामा आफैँले काम गरे पनि कामको नेतृत्व श्रीमतीको काँधमा रहेको चन्द्रले बताए । उनको परदेशको कमाइ राम्रो भएकाले लगानीको समस्या छैन । लगानी अनुसारको प्रतिफलसमेत हात परेकाले ऊर्जा मिलेको ताम्राकारले बताए । 

नयाँगाउँ जिल्लाकै सबैभन्दा बढी सुन्तला उत्पादन हुने ठाउँ हो तर बसाइँसराइले गाउँ खाली हुँदै जाँदा सुन्तला हराउला कि भन्ने अवस्थासमेत रहेको छ । जसका कारण आफूले परदेशबाट आउँदा आम्दानी खाने गरेर पाँच सय बोट सुन्तला र स्थानीय जातका तीन सय बोट केरा रोपेको ताम्राकारले बताए । उनको बारीमा १२ वटा टनेलमा टमाटर छन् । 

ताम्राकारले स्थानीय सरकारका तर्फबाट पाँच वटा टनेल र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट ५० प्रतिशत अनुदानमा सिँचाइ पोखरी र ज्ञान केन्द्रका तर्फबाट हाते ट्याक्टर पाएका छन् । धुर्कोट गाउँपालिका–१ का वडाध्यक्ष चेतमान कुँवरले चन्द्र ताम्राकारको कृषिकर्म निकै लोभलाग्दो भएकाले गाउँपालिकाबाट सक्दो सहयोगको प्रयास भएको बताए ।

प्रतिक्रिया