Listen LIVE

केरा खेतीबाट वार्षिक ६ लाखसम्म आम्दानी

गुल्मी : बाँदरले अन्नबाली खाएर हैरान गरेपछि किसानले केरा खेती सुरु गरेका छन् । जिल्लाको सत्यवती गाउँपालिका–६, जाहाङ्ग निवासी ४२ वर्षीय लक्ष्मी ढकालको परिवारले केरा खेती गर्दै आएकी छन् । 

विगतदेखि नै धान, गहुँ, मकै लगायतका विभिन्न रैथाने बालीहरू लगाउँदै आएकी पुर्ख्यौली ११ रोपनी बारीमा बाँदरले दुःख दिएको हुँदा लक्ष्मी कृषि तथा फलफूल फर्म दर्ता गरेर केरा खेती गर्दै आएको लक्ष्मी ढकालले बताइन् । 

घरदेखि तल रहेको रैथाने बाली पनि राम्रै उत्पादन हुने यस खेतबारीमा बाँदरले दिएको हैरानीका कारण स्थानीय प्रजातिका ५० वटा केराका बिरुवाबाट केरा खेतीको सुरु गरिएको उनले बताइन् ।  

सात वर्ष अघिदेखि सुरु गरिएको केरा खेतीमा अधिकांश केराका बीउ गाउँबाट नै सङ्कलन गरिएको उनको भनाइ छ । केही बिरुवा नजिकै रुद्रवेणीबाट ल्याइएको उनले बताइन् । बर्षेनि एउटा केराको बोटले झण्डै पाँचवटा बिरुवा दिने हुँदा अहिले तीन हजारभन्दा बढी केराका बोट रहेको उनले बताइन् । सबै बिरुवा स्थानीय प्रजातिको भएको उनको भनाइ छ ।

बारीमा मालभोग, डिड्ने, झोब्रि लगायतका विभिन्न पाँच प्रकारका केराका बोट रहेको उनले बताइन् । अरू खेतीमाजस्तै बाँदर लाग्ने भएता पनि केरा काँचो टर्रो हुने हुँदा बाँदरले त्यति नखाने उनले बताइन् ।

पहिले–पहिले बिहानदेखि साँझसम्म बाँदर धपाउन बारीमै बस्नुपर्थ्यो । केरा खेतीमा लागेपछि धेरै सजिलोसँगै समयको बचत भएको छ । काँचो केरा प्रतिदर्जन १०० रुपियाँ र पाकेको केरा प्रतिदर्जन १२० देखि १५० रुपैयाँ सम्ममा बिक्री गरिएको ढकालले बताइन् ।  

केरा खेतीका लागि दैनिक रूपमा बाहिरी मान्छे नलगाइएको उनले बताइन् । परिवारका सदस्यहरू श्रीमान्, दुई छोरा र एक छोरीले यस खेतीमा समय–समयमा सघाउने गरेको उनको भनाइ छ । जाडो समयभन्दा गर्मी समयमा अलि बढा मूल्यमा केरा बिक्री गर्न सकिने ढकाल परिवारले जनाएको छ । 

केरा बिक्रीको लागि बजारको समस्या नभएको भन्दै उनले स्थानीयको मागअनुसार र स्थानीय बजारमा नै केराको खपत हुने गरेको छ । केरा बिक्रीबाट वार्षिक पाँचदेखि छ लाख रुपियाँसम्म आम्दानी भइरहेको उनले बताइन् । 

केरा बिक्री गरेको रकमले घर खर्च राम्ररी चल्नुका साथै बचत पनि भएको छ । व्यावसायिक रूपमा केरा खेती गरेता पनि यहाँ सिँचाइ सुविधाको समस्या रहेको उनका श्रीमान् छविलाल ढकालले बताए ।

प्रतिक्रिया