नेपालगञ्ज : पश्चिम नेपालका मधेसी समुदायमा तिहारको मुख्य दिन आज यमद्वितीया अर्थात् ‘भैयादुज’ मा भुर्की पूजन गरी आ–आफनो दाजुभाइलाई टीका लगाई चिउरा, भुर्की र मिठाई खवाएर मनाइएको छ ।
आज भाइटिकाको मुख्य साइतमा नै भुर्की पूजनको कार्य गरिएको अवधी साहित्यकार विष्णुलाल कुमालले बताए ।
घरको आँगनमा गाईको गोबरले लिपपोत गरी भाइको चित्र कोरेर, नदी तलाउ, पर्वत, बाघ, भालु, सर्प, वन जगङ्लको चित्र बनाएर कुशलगायत विभिन्न काँडा राखी त्यसमाथि सिलौटा राखेर पूजा गर्ने प्रचलन छ ।
उक्त सिलौटामा चामलको पिठोले नदी बनाएर त्यसमा धर्म भाइको मूर्ति बनाई पूजा गरिन्छ । गाउँ टोलका सम्पूर्ण महिला एकजुट भई सामूहिकरूपमा भुर्की पूजन गर्दछन् । पूजाका क्रममा भाइबहिनीको सुख, समृद्धि र शान्तिका लागि विभिन्न कथा, कहानी सुनाउने गरिन्छ ।
भुर्की पूजनका क्रममा दिदीबहिनीले बिहानैदेखि व्रत बसेर आ—आफनो दाजुभाइको सुखशान्ति, उन्नति, सुस्वास्थ्य र दीर्घायुको कामना गर्ने प्रचलन रहेको वरिष्ठ अवधी संस्कृतिका जानकार पण्डित शिवप्रसाद पाठकले बताए ।
आज पूजा गरिएको चिउरा भुर्की टाढा रहेका आफ्ना दाजुभाइलाई कात्तिक पूर्णिमासम्म खुवाउने प्रचलन छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार