नेपालगञ्ज : ट्राफिक प्रहरीको सक्रियता, नियमित चेकजाँच र जनचेतनामूलक कार्यक्रमका कारण बाँकेमा पछिल्लो समय सडक दुर्घटनामा उल्लेख्य कमी आएको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार केही महिनाअघिसम्म बढ्दो क्रममा रहेका सडक दुर्घटना पछिल्ला महिनामा कम भएका छन्। दुर्घटना न्यूनीकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालयले सञ्चालन गरेको सचेतना अभियान, नियमित निगरानी र कडाइका साथ गरिएको चेकजाँच प्रभावकारी बनेको प्रहरीको भनाइ छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले जिल्ला प्रहरी कार्यालयको समन्वयमा सञ्चालन गरिएका ट्राफिक सचेतना कार्यक्रम र निगरानीका कारण दुर्घटना घटेको बताए।
उनका अनुसार गत जेठ महिनामा जिल्लामा १९ वटा सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन्।
दुर्घटनाको विश्लेषण गर्दा अधिकांश दुर्घटना तीव्र गतिका कारण हुने गरेको देखिएकाले चालकलाई थप सचेत बनाउन आवश्यक रहेको उनले बताए।
प्रहरीका अनुसार वैशाखमा २० वटा सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको थियो। चैतमा ३६ वटा दुर्घटनामा सात जनाको मृत्यु तथा ४४ जना घाइते भएका थिए भने फागुनमा ३३ वटा दुर्घटनामा चार जनाको मृत्यु र ४६ जना घाइते भएका थिए।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक कनकबहादुर शाहीले ट्राफिक प्रहरीले निरन्तर चेतनामूलक कार्यक्रमसँगै सवारी चेकजाँचलाई थप प्रभावकारी बनाएकाले दुर्घटना घट्न सहयोग पुगेको बताए।
उनले अझै पनि तीव्र गतिमा सवारी चलाउने प्रवृत्ति कायम रहेकाले दुर्घटना न्यूनीकरणमा चुनौती रहेको उल्लेख गर्दै अब गति नियन्त्रणमा विशेष ध्यान दिइने बताए।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार दुर्घटना न्यूनीकरणका लागि तीव्र गतिमा सवारी चलाउने तथा मादक पदार्थ सेवन -मापसे) गरी सवारी चलाउने चालकमाथि निगरानी बढाइएको छ। साथै दैनिकजसो जिल्लाका विभिन्न स्थानमा ट्राफिक नियम, सुरक्षित गति र सम्भावित सडक जोखिमबारे जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिँदै आएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार