Listen LIVE

बाँकेमा ३८ खानेपानी आयोजना अझै अधुरै

नेपालगञ्ज : बाँकेमा निर्माणाधिनमध्ये ३८ वटा खानेपानी आयोजनामा चालु आर्थिक बर्षको अन्त्यसम्म बजेट बिनियोजन नभएपछि आयोजना अधुरै अवस्थामा रहेका छन् । 

खानेपानी तथा सरसफाइ कार्यालय बाँकेका इञ्जिनियर गोपाल शर्माले असार तेस्रो सातासम्म सशर्त आयोजनाका लागि बजेट उपलब्ध नभएको बताए । शर्माले भने, 'स्थानीयहरु आयोजनाको काम अघि बढाउन बारम्बार कार्यालयमा आउने जाने गर्नुहुन्छ, बजेट नभएपछि कार्यालयबाट काम अघि बढाउन सकेका छैनौं ।'

सङ्घीय सशर्त अनुदानबाट निर्माण भइरहेका सबै ३८ वटा आयोजनाका लागि चालु आवमा बजेट कटौती गरिएको हो । बिगतमा नियमित बजेट बिनियोजन भइ काम क्रमागत रुपमा हुँदैआएका योजनामा बजेट नभएपछि कतिपय सम्पन्न हुने अवस्थामा पुगेका आयोजना समेत अलपत्र अवस्थामा छन् । 

सङ्घीय बजेट रोकिएका योजनाहरुमध्ये कतिपय सम्पन्न हुने अवस्थामा भए पनि बजेट कटौंती परे पनि छिटोभन्दा छिटो आम नागरिकलाई खानेपानी वितरण गर्ने कार्य पनि पछि धकेलिने देखिएको छ । 

सीतापुर खानेपानी आयोजना, उढरापुर खानेपानी आयोजना, सोनपुर खानेपानी आयोजना, रनियापुर खानेपानी आयोजना लगायतका केही आयोजना सम्पन्न हुने अवस्थामा रहेको कार्यालयले जनाएको छ । यसैगरी थोरै लगानीमा सम्पन्न हुने चरणमा रहेका टिटिहिरिया, बनकटुवा सुधार बिस्तार लगायतका आयोजनाको पनि बजेट कटौती भएको छ ।

बाँकेको चालु आवमा प्रदेश सरकार अन्तर्गत ४४ वटा आयोजना निर्माण भइरहेका छन् । तीमध्ये केही आयोजनाको काम सम्पन्न भइसकेको छ । बाँकेमा आव २०७५/७६ देखि प्रदेश सरकारले समेत खानेपानीमा काम गर्न थालेपछि खानेपानी आयोजना निर्माणको काममा तिव्रता आएको छ ।

प्रतिक्रिया