Listen LIVE

तोरी खेतीतर्फ आकर्षित डुडुवाका किसान

यदुराज मिश्र/डुडुवा (बाँके) : बाँकेका डुडुवा गाउँपालिकाका किसान तोरी खेतीतिर आकर्षित भएका छन् । गहुँ, मसुरो जस्ता हिउँदे बालीको खेती गर्दै आएपनि तोरी बालीले बढी फायदा दिने भएकोले तोरी खेतीतर्फ आकर्षित भएका हुन् । छाडा चौपायाले सबैभन्दा बढी गहुँ, मसुरो खेतीलाई नोक्सान गर्ने गरेका कारण तोरी खेती गर्न लागिएको कृषकहरुले बताएका छन् । उनीहरुका अनुसार छाडा चौपायाले गहुँभन्दा तोरीलाई कम नोक्सान गर्ने गर्दछन् ।

छाडा चौपायाबाट आजित भएपछि किसानको ध्यान तोरी खेतीतिर गएको डुडुवा गाउँपालिका–३ बनकट्टीका कृषक विनोद वर्माले बताए । उनले किसानले गहुँ, मसुरो खेती घटाएर तोरी खेती बढाएको उल्लेख गरे ।

डुडुवा गाउँपालिका वडा नं. १, २ र ३ मा छाडा पशुचौपायाको समस्या विकराल छ । चौपायाले गहुँ, मसुरो जस्ता हिउँदे बाली अत्यधिक नोक्सान गर्ने गरेकाले किसानको ध्यान तोरी खेतीमा गएको छ । तोरी खेतीलाई कम स्याहार गर्नुपर्ने भएकाले पनि किसानहरु तोरी खेतीमा आकर्षित भएको कृषक वर्माले बताए ।

डुडुवा गाउँपालिकामा यसवर्ष ७० हेक्टर क्षेत्रफलमा तोरी खेती गरिएको कृषि शाखा प्रमुख सुशीलकुमार शर्माले बताए । जसमध्ये १२ हेक्टरमा तोरी र मसुरो मिश्रित खेती गरिएको छ । “वडा नम्बर १, २ र ३ मा बढी तोरी खेती गरिएको छ”, उनले भने ।’ 

प्रतिक्रिया