नेपालगञ्ज : बाँकेमा सरकारले धान खरिदको कोटा आधा घटाएर पठाएपछि धान खरिद शुरु हुन नसके पनि जिल्लाको एक सहकारीले १० हजार क्विन्टल धान खरिद गर्न शुरु गरेको छ ।
सहकारीले किसानबाट धान खरिद प्रक्रिया शुरु गरेपछि यहाँका किसानले राहत महसुस गरेका छन् । बाँकेको राप्तीसोनारी गाउँपालिका ६ स्थित साकार कृषि सहकारी संस्था लिमिटेडले यस वर्ष किसानबाट गाउँमै १० हजार क्विन्टल धान खरिद शुरु गरेको हो ।
किसानले उत्पादन गरेको सबै जातको धान उचित मूल्यमा खरिद गर्न सुरु गरिएको साकार कृषि सहकारीका मुख्य प्रबन्धक जमानसिंह वलीले बताए । उनले स्थानीय किसानलाई उत्पादनको उचित मूल्य दिलाउने र व्यावसायिक कृषिमा प्रोत्साहन गर्ने उद्देश्यले धान खरिद अभियान सञ्चालन गरिएको बताए ।
'स्थानीय कृषकलाई प्रोत्साहन गर्न र उनीहरूको उत्पादनको उचित मूल्य सुनिश्चित गर्न धान खरिद गर्ने योजना बनाएर खरिद सुरु गरेका हौँ' प्रबन्धक वलीले भने, 'किसानका मेहनतलाई सम्मान गर्दै धानको जातअनुसार मूल्य निर्धारण गरेका छौँ ।'
सहकारीले मसिनो धान प्रतिक्विन्टल तीन हजार २०० रुपैयाँ, राधा–४ मोटो धान दुई हजार ८५० रुपैयाँ र हाइब्रिड धान दुई हजार ७५० रुपैयाँमा खरिद गरिरहेको जनाएको छ । धान बिक्री गर्न इच्छुक किसानले सहकारीको गोदाम वा संकलन केन्द्रमा उत्पादन ल्याउनु पर्ने भनेको छ ।
गाउँमै धान बिक्री गर्न पाउने भएपछि राप्तीसोनारी क्षेत्रका किसानलाई बजारीकरणमा सहज हुने र आर्थिक अवस्थामा सुधार आउने अपेक्षा गरिएको वलीले बताए ।
राप्तीसोनारी ६ फत्तेपुरको टेपरीमा केन्द्रीय कार्यालय रहेको सहकारीमा आठ हजारभन्दा बढी किसान सदस्य छन् । किसानबाट खरिद गरिएको धान भण्डारण गर्न राप्तीसोनारी ५ बिनौनास्थित गोदाममा व्यवस्था मिलाइएको सहकारीका अध्यक्ष हुमाशंकर वलीले बताए ।
अध्यक्ष वलीका अनुसार सहकारीले धान खरिदसँगै बिउ उत्पादनमा पनि किसानलाई प्रोत्साहन गर्दैआएको छ । किसानले उत्पादन गरेको बिउ धानसमेत सहकारीले खरिद गर्ने गरेको छ ।
किसानको उत्पादनलाई स्थानीयस्तरमै प्रशोधन र बजारीकरण गर्ने उद्देश्यले सहकारीले ५५ लाख रुपैयाँ लगानीमा यस वर्षदेखि अत्याधुनिक 'सिल्की चामल मिल' पनि सञ्चालनमा ल्याएको छ ।
मिल सञ्चालनमा आएसँगै राप्तीसोनारीका किसानले उत्पादन गरेको धान सहकारीमार्फत बिक्री गर्न र गाउँमै कुटानी–पिसानीको सुविधा लिन सहज हुने अध्यक्ष वलीको भनाइ छ । स्थानीयस्तरमै प्रशोधन र बजारीकरणको व्यवस्था भएपछि किसानको व्यावसायिक कृषिप्रतिको आकर्षण बढ्ने उनले विश्वास व्यक्त गरे ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बाँकेमा यस वर्ष धान खरिदका लागि कोटा आधा घटाएर १० हजार क्विन्टल मात्रै कोटा निर्धारण गरेकाले सहकारीले गाउँमै धान खरिद गर्नु किसानका लागि राहत हुने किसान महासंघ बाँकेका अध्यक्ष कृष्णविक्रम केसीले बताए ।
उनले सरकारी खरिद कोटा सीमित हुँदा किसानले उत्पादन गरेको धान बिक्री गर्न समस्या भएको जनाउँदै सहकारीको खरिद अभियानले किसानलाई केही हदसम्म राहत हुने बताए ।
सरकारले तोकेको कोटा बृद्धि गरेर तत्काल धान खरिद सुरु गर्नुपर्ने जनाउँदै त्यसो नगरिए किसान आन्दोलन गर्न बाध्य हुने चेतावनी किसान महासंघ बाँकेले दिएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार