नेपालगञ्ज : तिहार र दिपावलीको बेला बाँकेको कोहलपुरमा स्वरूप परिवर्तन गरी अत्यधिक ध्वनि प्रदूषण हुने गरी तीव्र गतिमा चलाइएका १८ वटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।
चाडपर्व सुरक्षामा खटिएको इलाका प्रहरी कार्यालय कोहलपुरको प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा वास्तविक स्वरूप परिवर्तन गरी चर्को ध्वनिका साथ लापरवाही तरिकाले चलाइएका मोटरसाइकल नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नियन्त्रणमा लिइएका मोटरसाइकलमा ११ वटा रोयल इन्फिल्ड ३५० सीसी, एउटा यामाहा १५० सीसी, एउटा भीआर, दुई वटा पल्सर, दुई स्कुटर र एउटा क्रसफायर रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले दिपावली र तिहारको समयमा सुरक्षित सवारी साधन चलाउन लगाउने उद्देश्यले सुरु गरिएको चेकजाँचका क्रममा नियन्त्रणमा लिइएका सबै १८ वटा मोटरसाइकल आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय कोहलपुरमा राखिएको बताए ।
उनले मोटरसाइकलको स्वरूप परिवर्तन गरी अत्यधिक आवाज निकाल्ने तथा ध्वनि प्रदूषण गर्ने गतिविधिलाई नियन्त्रण गर्न प्रहरीले चेकजाँचलाई तीव्रता दिएको जनाउँदै नेपालगञ्जमा मोडिफाइ गरिएका धेरै मोटरसाइकल चलाइएको गुनासो आएकाले यहाँ पनि चेकजाँच अभियान तीव्र पारिने बताए ।
इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा मोटरसाइकलको वास्तविक स्वरुप परिवर्तन गरी अत्यधिक ध्वनि प्रदूषण हुने गरी सञ्चालन गरिरहेको अवस्थामा नियन्त्रणमा लिएका मोटरसाइकलहरूमा भे १५ प ४९०, भे १० प ९२१, भे १५ प २५८२, भे २ प २६०९, भे १४ प ९५७९, बा ७९ प १८६३, भे १५ प २७४१, लु ७१ प ९२४,भे १३ प ६२८३ नम्बरको रोयल इन्फिल्ड ३५० सिसि, ग ७ प १६४९ को यामाहा १५० सिसि, भे ११ प ८३८ को पल्सर र भे १४ प ८४०८ नम्बरको क्रस फायर लगायत रहेका छन् ।
नियन्त्रणमा लिइएका मोटरसाइकललाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय कोहलपुरमा राखिएको र थप चेकजाँच पनि तीव्र पारिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक चक्र डम्बरपालले बताए ।
जिल्ला प्रहरी कार्यालय बाँकेले कुनै पनि सवारीसाधनको वास्तविक स्वरुप परिवर्तन नगर्न तथा नगराउन सर्वसाधारणलाई अनुरोध गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अंगुर जिसीले दुर्घटनाबाट आफू पनि बच्न र अरूलाई पनि बचाउन सुरक्षित तथा जिम्मेवार ढङ्गले सवारीसाधन चलाउन सबैसँग आग्रह गरेका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार