बर्दिया : बर्दियाको राजापुर नगरपालिकामा गत वर्षको तुलनामा किशोरीमा रक्तअल्पतामा कमी आएको छ ।
गत वर्ष राजापुरका सम्पूर्ण विद्यालयमा परिक्षण गर्दा ८२ प्रतिशत किशोरीमा देखिएको रक्तअल्पता यस वर्षको परीक्षणमा ६५ प्रतिशत किशोरीमा मात्र पुष्टि भएको हो ।
राजापुर नगरपालिकाले सामुदायिक र संस्थागत विद्यालयमा अध्ययनरत किशोरीहरू रक्तअल्पता परिक्षण गरेको थियो । जसमध्ये ६५ प्रतिशत किशोरीमा रक्तअल्पता पुष्टि भएको छ ।
नगरपालिकाले विद्यालयमा अध्ययनरत १० वर्ष भन्दा माथिका दुई हजार एक सय ७५ जना किशोरीको रगत परीक्षण गर्दा एक हजार चार सय ३३ जना किशोरीमा रक्तअल्पता देखिएको छ ।
जसमध्ये ७२ जना किशोरीलाई कडा खालको रक्तअल्पता देखिएको छ भने तीन सय ७६ जना किशोरीलाई मध्यम र नौ सय ८५ जना किशोरीलाई सामान्य किसिमको रक्तअल्पता पुष्टि भएको छ । परीक्षण गरिएका किशोरी मध्ये ३.३ प्रतिशतलाई कडा खालको रक्तअल्पता देखिएको छ ।
गत वर्ष एक हजार चार सय ४१ जना किशोरीको रक्तपरीक्षण गर्दा एक हजार एक सय ७४ जनामा रक्तअल्पता देखिएको थियो । जसमध्ये एक सय २३ जनामा (८.५३ प्रतिशत) विद्यार्थीमा कडा खालको रक्तअल्पता पुष्टि भएको थियो भने छ जनालाई तत्काल अस्पताल भर्ना गरेर रगत चढाइएको थियो ।
गत वर्षको तुलनामा अहिले रक्तअल्पतामा केही सुधार भएको राजापुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गणेश प्रसाद अर्यालले जानकारी दिए । यस वर्ष पनि कडा खालको रक्तअल्पता देखिएको किशोरीलाई थप चेकजाँच र उपचारको लागि प्राथमिक स्वास्थ्य कार्यालय र स्वास्थ्य चौकीहरूमा रेफर गरिएको उनको भनाइ छ ।
चिकित्सकका अनुसार हेमोग्लोबिन आठ भन्दा कम भएकालाई कडा खालको रक्तअल्पता भनिन्छ । उनीहरूलाई अवस्था अनुसार रगत समेत चढाउनु पर्ने हुनसक्ने उनले बताए ।
मध्यम र सामान्य रक्तअल्पतालाई आइरन चक्की खुवाइ खानपानमा सुधार गरेमा समस्या समाधान हुने उनले बताए । कडा खालको रक्तअल्पता देखिएका किशोरीहरूको थप स्वास्थ्य समस्या पत्ता लगाएर उपचार गर्ने नगरपालिकाको योजना रहेको छ ।
गत वर्षको तुलनामा यस वर्ष रक्तअल्पतामा सुधार आएको वरिष्ठ नर्सिङ्ग निरीक्षक देवी खनालको भनाइ छ । उनले तुलनात्मक रुपमा सुधार आएपनि अझै सोचे जस्तो सुधार नआएको बताए । उनका अनुसार शिक्षकले आफ्नै निगरानीमा आईरनचक्की खुवाउने गरेको विद्यालयमा रक्तअल्पतामा धेरै सुधार आएको छ ।
बालबालिकालाई घरमा लगेर खानु भनेर दिएको ठाउँमा रक्तअल्पताको अवस्था अझै जटिल भएको उनले बताए । राजापुर नगरपालिकाका नगरप्रमुख दिपेश थारूले राजापुरको किशोरीको रक्तअल्पताको अवस्था सुधार गर्नका लागि यस वर्ष पनि सबै किशोरीको रगत परीक्षण गरिएको छ ।
उनले रक्तअल्पताको रिपोर्ट हेरेर आगामी योजना बनाउने बताउँदै विद्यालयका शिक्षकले राम्रोसँग खुवाउने र विद्यार्थीले नियमित आइरन चक्की खाने गरेमा रक्तअल्पताको समस्या समाधान हुने बताए ।
थारू समुदायको बाहुल्यता भएको ठाउँ हुनाले सिकलसेल र थालसेमिया रोगको पहिचान गर्न समेत रक्तअल्पता परीक्षण शिविरले सहयोग गरेको हो । बर्दिया जिल्लाका स्थानीय तह मध्ये आफै रक्तअल्पता परिक्षण गर्ने राजापुर नगरपालिका मात्र हो ।
गत वर्ष परिक्षण पश्चात् विद्यालयका शिक्षक, अभिभावक र विद्यार्थीहरूसँग छलफल र सहकार्य गरेर रक्तअल्पतामा कमी आएको हो । गत फागुनमा स्वास्थ्य कार्यालय बर्दियाले आठ ओटा पालिकाका आठ ओटै विद्यालयमा गरेको रक्तअल्पता परि ८१.९ प्रतिशत किशोरीमा रक्तअल्पता पुष्टि भएको थियो ।
कार्यालयले दुई हजार छ सय ७२ जना किशोरीमा गरेको रक्तपरिक्षणमा दुई हजार एक सय ८९ जनामा रक्तअल्पता रक्तअल्पता फेला परेको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार