काठमाण्डौ : एसिया कप क्रिकेटमा आज भारत र पाकिस्तानबीच खेल हुँदैछ।
दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति सवा ८ बजे सुरु हुनेछ। समूह चरणको पहिलो खेलमा भारतले युएईलाई ९ विकेटले पराजित गरेर विजयी शुरुवात गरेको छ भने पाकिस्तानले ओमानलाई ९३ रनले पराजित गरेर विजयी सुरुवात गरेको थियो।
भारत र पाकिस्तानबीच अहिलेसम्म १३ टी–२० खेल भएका छन्। जसमा अहिलेसम्म १० खेल भारतले जितेको छ भने पाकिस्तानले ३ खेल जितेको छ। भारत र पाकिस्तान अन्तिम पटक २०२४ को टी–२० विश्वकपमा आमनेसामने भएका थिए।
दुई टोलीबीचको सो खेल न्यूयोर्कमा खेलिएको थियो र भारतले ६ रनले जितेको थियो। भारतले अन्तिम पटक रोहित शर्माको कप्तानीमा खेलेको थियो भने पाकिस्तानको नेतृत्व बाबर आजमले गरेका थिए।
रोहितले अब टी–२० अन्तर्राष्ट्रियबाट सन्यास लिएका छन् भने बाबरले एसिया कपको लागि टोलीमा स्थान पाएका छैनन्। त्यसैले भारत र पाकिस्तानका टोलीहरू अब नयाँ कप्तानको नेतृत्वमा यो खेलमा प्रवेश गर्नेछन्।
भारतको नेतृत्व सूर्यकुमार यादवले गरिरहेका छन् भने पाकिस्तानको नेतृत्व सलमान अली आगाले गरिरहेका छन्।