नेपालगञ्ज : कृषि ज्ञान केन्द्र बाँकेले जिल्लाका मुक्तकमैयालाई निःशुल्क कृषि सामग्री तथा बिउबिजन वितरण गरेको छ । लुम्बिनी प्रदेश सरकारको लक्षित समुदाय विशेष आयआर्जन कार्यक्रमअन्तर्गत जिल्लाको बैजनाथ गाउँपालिका–५ का ३२ घर मुक्त कमैयालाई स्प्रे, बिरुवा राख्ने ट्रे, विषादी, धान र तरकारीको बीउलगायतका कृषि उपकरण वितरण भएको हो ।
कृषि ज्ञान केन्द्र, बाँकेका प्रमुख विनोद घिमिरेले सीमान्तकृत समुदायको जीवनस्तर सुधारका लागि प्रदेश सरकारले सो कार्यक्रम सञ्चालन गरेको जानकारी दिँदै एउटा परिवारका लागि १२ हजार रुपैयाँ बराबरको कृषि उपकरणसहित बिउबिजन वितरण भएको बताए । प्रदेश सरकारको उद्देश्य पनि सीमान्तकृत समुदायका घरपरिवारलाई छनोट गरेर आयआर्जन बढाउन सहयोग गरेको उनले बताए ।
उनले कृषि उपकरण र बिउबिजन निःशुल्क वितरण गरिएको बताए । ‘हामीले कृषि प्राविधिक भेटघाट कार्यक्रममा सरकारी सेवामा पहुँच नभएका व्यक्तिसँग छलफल गरेर उहाँहरुको मागअनुसार कृषि उपकरण र बिउबिजन वितरण गरेका छौं,’ प्रमुख घिमिरेले भने । उनले जिल्लाका विभिन्न स्थानमा स्थलगत रुपमा कृषि प्राविधिक भेटघाटले किसान उत्साहित भएको जानकारी दिए ।
प्रमुख घिमिरेले गाउँगाउँमा जाँदा सरकारको पहुँच नपुगेको क्षेत्र छनोट गरेर विपन्न समुदायलाई कृषि सामग्री र बिउबिजन वितरण गरिएको बताए । उनका अनुसार यस वर्ष ५० घर विपन्न परिवार यस कार्यक्रमबाट लाभान्वित हुनेछन् ।
यसअघि कृषि ज्ञान केन्द्रले जिल्लाको डुडुवा गाउँपालिका, राप्तीसोनारी र नरैनापुर गाउँपालिकाका विपन्न किसानलाई पनि निःशुल्क कृषि सामग्री तथा बीउबीजन वितरण गरेको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार