Listen LIVE

दूधको पैसा असुल गराई दिन प्रशासनसँग आग्रह गर्दै किसान

बर्दिया : बर्दिया जिल्लाको गुलरिया नगरपालिकाका कृषकहरूले दूध बिक्री गर्दा पाउनु पर्ने रकम भुक्तानी नपाएको भन्दै जिल्ला प्रशासन कार्यालयमा लिखित निवेदन दर्ता गराएका छन् ।

गुलरिया नगरपालिका वडा न.३, ५, ७, ८, ९, १० का एक सय भन्दा बढी कृषकहरूले विगत चार महिनादेखि आफूहरूले दूधको भुक्तानी नपाएको भन्दै जिल्ला प्रशासन कार्यालयमा लिखित निवेदन दर्ता गराएका हुन् ।

बासगढी नगरपालिकाले बाँसगढी बजारमा सञ्चालनरत रहेको भट्टराई डेरी उद्योग प्रा.लीले गुलरिया नगरपालिकाको वडा नं. ८ गुलरिया बजारमा सञ्चालन गरेको दूध सङ्कलन केन्द्रमा बिहान बेलुका दूध दिँदासमेत आफूहरूले चार महिनाको भुक्तानी नपाएको कृषकहरूले बताएका छन् । पटक पटक दूध बिक्री बापतको रकम माग गर्दा आफूहरूले भुक्तानी नपाएपछि बाध्य भएर जिल्ला प्रशासन कार्यालयमा लिखित उजुरी दर्ता गर्नु परेको गुलरिया नगरपालिका वडा नं.९ का स्थानीय मनोज यादवले बताए ।

कृषकहरूले भैसीपालनमा ठुलो रकम खर्च गर्नु पर्ने भए पनि डेरी सञ्चालन गर्दे आएका भट्टराई डेरी उद्योग प्रा.ली. बासगढीका सञ्चालक खेमराज भट्टराईले पैसा माग्दासमेत कृषकहरूलाई धम्क्याउने गरेको र फागुन महिनादेखि अहिलेसम्म भुक्तानी नपाएको गुलरिया नगरपालिका वडा नं. १० का रामराज यादवले बताए । एक सय जनाभन्दा बढी कृषक हस्ताक्षरसहित जिल्ला प्रशासन कार्यालय पुगेका कृषकलाई जिल्ला प्रशासन कार्यालय बर्दिया प्रमुख जिल्ला अधिकारी रुद्रा देवी शर्माले यस बारेमा आवश्यक छानबिन गरिने र कृषकको रकम दिलाएर मात्र छोड्ने बताइन् ।

उता दुग्ध उत्पादन गर्ने कृषकहरूले रकम भुक्तानी नपाएको भनी प्रश्न गर्दा डेरी सञ्चालक खेमराज भट्टराईले पैसा नदिएको स्वीकार गर्दै उजुरी हाल्दैमा केही नहुने र रकम भुक्तानी गर्ने बारेमा पहल भई रहेको बताए ।

प्रतिक्रिया