Listen LIVE

तरकारी जोनअन्तर्गत सय टनेल निर्माण

प्युठान : मल्लरानी गाउँपालिका –५ सरङकोटका मुकुन्द मल्लले आफ्नो बारीमा तरकारी खेतीका लागि प्लास्टिक टनेल बनाएका छन् । साथमा मल्चिङ र थोपा सिँचाइ प्रविधि पनि जडान गरेका छन् । 

विशेषगरी टमाटर उत्पादन गर्ने उद्देश्यले मल्लले परम्परागतरुपमा गर्दैआएको कृषिलाई परिवर्तन गरी मल्चिङ, थोपा सिँचाइसहितको प्लास्टिक टनेल निर्माण गरेका हुन् ।

“टमाटर र तरकारी फलाउने उद्देश्यले टनेल बनाएको हो” उनले भने, “व्यावसायिकरुपमा कृषि खेतीलाई अघि बढाउने उद्देश्यले लागिरहेको छु ।” मल्ल सरङकोटको उत्कृष्ट किसानको रुपमा चिनिन्छन् । गाउँमा अहिले मल्लको सिको गर्दै अरु किसान पनि कृषिलाई प्रविधिसँग जोड्दै तरकारी खेती गर्न थालेका छन् ।

च्याउ उत्पादन, मौसमी तथा बेमौसमी तरकारी खेतीमा यहाँका किसानहरु सक्रिए भएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ प्युठानले सञ्चालन गरेको तरकारी जोनअन्तर्गत मल्लरानी गाउँपालिका –३ खाइनडाँडा र ५ नम्बर वडाको सरङकोटमा यस वर्ष एकसय टनेल निर्माण गरिएको छ । 

निर्माण गरिएको टनेलमा किसानले तरकारीको बेर्ना लगाउन थालेका छन् । टनेलसँगै पानी सङ्कलन गर्न पोखरी समेत निर्माण गरिएको छ । टनेल निर्माण भएपछि किसानहरु हौसिएका छन् । तरकारी खेतीकै लागि स्थानीय सरकार मल्लरानी गाउँपालिकाले बीउ, विषादी लगायतमा सहयोग गरेको मल्लले बताए ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्युठानका प्रमुख चुमानसिंह गिरीले विगत ३ वर्षदेखि कार्यालयले नयाँ प्रविधिमा जोड दिँदै तरकारी जोनमा काम गर्दैआएको बताए । 

उनले थोपा सिँचाइ, मल्चिङ प्रविधि, टनेल खेतीतर्फ किसानलाई उत्प्रेरित गर्दै लगेको बताए । उनले यस वर्ष कार्यालय र स्थानीयका लागि साझेदारीमा एकसय वटा टनेल निर्माण भएको बताए ।

मल्लरानी गाउँपालिका अध्यक्ष कृष्णबहादुर खड्काले किसानले उत्पादन गरेका उपजलाई पालिकाले बजारीकरण गर्ने जिम्मा लिने बताए । उनले किसानलाई उत्पादनको आधारमा थप अनुदान दिने गरेको बताए ।

प्रतिक्रिया