गुल्मी : पश्चिम गुल्मीका किसानहरु यतिवेला मकै थन्क्याउन व्यस्त हुन थालेका छन् । यहाँका किसानहरु मकैलाई मुख्य खाद्यवाली र आयआर्जनको स्रोत रुपमा कृषिलाई लिने गरेका छन् । किसानहरु अहिले बारीको मकै भाँच्ने, छोडाउने र सुकाउने काममा व्यस्त छन् । उनीहरू बिहानदेखि बेलुकासम्म मकै थन्क्याउनमा व्यस्त रहेका छन् । मकै उत्पादनका क्रममा स्थानीय किसानहरुले निकै समस्या भोग्ने गरेका छन् ।
हावाहुरीसहितको पानी र जङ्गली जनावरका कारण खाद्यवाली उत्पादनमा समेत समस्या आउने गरेको छ । यस जिल्लाको मालिका गाउँपालिका–३, महाभिरका किसान तोयनाथ अर्यालले बँदेलले मकै नखाँदा २० मुरीसम्म उत्पादन हुने बताए ।
‘‘यस वर्ष करिब १५ मुरी मकै उत्पादन भएको छ ।’’ उनले भने, ‘‘जङ्गली जनावर बाँदर र बँदलले मकै उत्पादनका क्रममा निकै दुःख दिएको छ ।’’ मकै पाक्ने समयमा बाँदर र बँदेलले निकै दुःख दिने हुँदा किसानहरुलाई निकै समस्या भएको उनले बताए ।
मकै स्यार्नमा निकै व्यस्त देखिनुभएका अर्यालले घुनलगायतका मकैमा लाग्ने विभिन्न प्रकारका किराबाट सुरक्षित राख्न आकर्षक रुपमा झुत्ता बनाएर घरको बार्दलीमा झुण्डाएर राखेका छन् । यसरी परम्परागत रूपमा मकैका झुत्तालाई झुण्डाएर राख्दा घुनलगायतका मकैमा लाग्ने विभिन्न प्रकारका किराबाट सुरक्षित राख्न सकिने उनले बताए ।
त्यस्तै, अर्का किसान मदाने गाउँपालिका–१, अग्लुङ्गका किसान धन बहादुर विश्वकर्माले प्रत्येक वर्ष करिब १० मुरी मकै उत्पादन गर्छन् । मकै खेती राम्रो भएता पनि बाँदर र बँदेलले निकै दुःख दिएको बताए । ‘‘मकैमा धान, झुपुल्लो लाग्न थालेदेखि नै बाँदर र बँदेलले दुःख दिने गरेको छ ।’’ उनले भने, ‘‘बाँदर र बँदेलबाट मकैसँगै अन्य खाद्यवाली जोगाउन सकिएको छैन ।’’
हावाहुरीसहितको पानीले मकैबालीलाई असर पुर्याएको उनको भनाइ छ । ‘‘युवाहरुको विदेश पलायनका कारण अन्नवाली खान आउने बाँदर बँदेललाई धपाउन सकिएको छैन ।,’’ किसान विश्वकर्माले भने, ‘‘अहिले गाउँमा वृद्ध बुबाआमाहरु मात्र हुनुहुन्छ ।’’ गाउँमा पछिल्लो समयमा मकै खेती गर्न छाड्नुका साथै रैथाने बीउको अभाव समेत देखिएको उनले बताए ।
किसानहरुले स्थानीय र उन्नत जातको मकैको खेती गर्ने गरेका छन् । विगतमा ग्रामीण भेगका किसानहरु सबै मिलेर मकै स्यार्ने गर्ने गरेको मुसिकोट नगरपालिका वडा नम्बर–१, का किसान कृष्ण विश्वकर्माले बताए । किसानहरुले जङ्गली जनावरबाट धेरै दुःख पाएको बताए । जङ्गली जनावरको व्यवस्थापन गर्न सरकारले विशेष कानुन बनाउन आवश्यक रहेको बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार