Listen LIVE

राप्तीसोनारीमा डेढ करोड बढीको खसीबोका बिक्री

राप्तीसोनारी (बाँके) : बाँकेको एक सामाजिक उद्यमी महिला सहकारी संस्थाले एक करोड ८१ लाख बढीको खसीबोका बिक्री गरेको छ । जिल्लाको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ टेपरीस्थित नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थाले गत आर्थिक वर्ष २०८०–०८१ मा एक करोड ८१ लाख बढीको खसीबोका बिक्री गरेर आर्थिक कारोबार गरेको हो ।

गत आर्थिक वर्ष २०८०–०८१ मा एक करोड ८१ लाख ३ हजार ८०९ रुपैयाँ बराबरको खसीबोका बिक्रीवितरण भएको नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थाका प्रबन्धक दिव्या गुरुङले जानकारी दिइन् ।

प्रबन्धक गुरुङका अनुसार आर्थिक वर्षमा ३१७१० किलोग्राम तौल बराबरका १०१७ वटा खसीबोका बिक्री भएका थिए । जुन बिक्रीबाट एक करोड ८१ लाख ३ हजार ८०९ रुपियाँ बराबरको आर्थिक कारोबार भएको हो । सोही आर्थिक वर्षमा १०३० किलोग्राम बराबरका ७३ वटा ब्याड बाख्रा पनि बिक्री भएको उनले जानकारी दिइन् । बाख्रा बिक्रीबाट तीन लाख ५५ हजार ३५० रुपैयाँ आम्दानी भएको थियो ।

त्यसैगरी आर्थिक वर्ष २०७९–०८० मा २५३४० किलोग्राम बराबरका ९०२ वटा खसीबोक्रा बिक्री भएको गुरुङले बताउनुभयो । उक्त वर्ष खसीबोका बिक्रीबाट एक करोड ३० लाख ७५ हजार ७०८ रुपियाँ बराबरको आर्थिक कारोबार भएको उनले बताइन् ।

सहकारी संस्थामार्फत् ५९ वटा समूह गठन गरिएको छ । सहकारीले गठन गरिएका समूहका किसानहरुबाट खसीबोका तथा बाख्रा खरिद गर्दै आएको छ । सहकारीमार्फत गठन गरिएका ५९ वटा समूहका किसानलाई सहकारीबाट खसीबोका तथा बाख्रापालनका लागि ऋणसमेत उपलब्ध गराउँदै आएको प्रबन्धक गुरुङले बताइन् ।

अन्य समयमा भन्दा दसैँ तिहारको समयमा खसीबोकाको माग बढी हुने र यही समयमानै बढी बिक्री हुने गरेको गुरुङले बताइन् । हाल सहकारी आबद्ध किसानसँग ५२५ रुपैयाँ प्रतिकिलोका दरले खसीबोका खरिद गर्ने र १० देखि १५ रुपैयाँ प्रतिकिलो बढाएर व्यापारीलाई बिक्री गर्ने गरेको उनको भनाइ छ । (गोरखापत्रबाट)

प्रतिक्रिया