Listen LIVE

नेपालगञ्जमा राष्ट्रिय धान दिवस मनाइयो

नेपालगञ्ज : नेपालगञ्जमा राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइएको छ । नेपालगञ्ज उपमहानगरपालिका आर्थिक विकास समितिअन्तर्गत कृषि विकास शाखाको आयोजनामा आज नेपालगञ्ज–१७ ढोडेगाउँमा राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइएको हो । 

कार्यक्रमको व्यवस्थापन प्रगतिशिल कृषक समूह नेपालगञ्ज–१७ ले गरेको हो । आर्थिक विकास समिति सदस्य संगिता रेग्मीको अध्यक्षता एवम् लुम्बिनी प्रदेश सभा सदस्य बादशाह कुर्मीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि कुर्मीले नेपालका अधिकांश मानिस कृषि पेशामा आवद्ध भएकाले धान दिवस र रोपाइँ महोत्सवको विशेष महत्व रहेको बताए । उनले धान उत्पादनमा वृद्धि गरी आत्मनिर्भरता बढाउनु अहिलेको आवश्यकता रहेकोमा जोड दिए । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले कृषकका लागि असार १५ विशेष दिन भएको बताउँदै परम्परागत खेती प्रणालीलाई व्यवसायिक र आधुनिक बनाउन आवश्यक रहेकोमा जोड दिए । 

आर्थिक विकास समितिका सदस्य सचिव एवम् सहकारी शाखा प्रमुख प्रविण कुमार रानाले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा जय माँ ज्वाला कृषि सहकारी संस्थाका अध्यक्ष धर्मराज यादव, अगुवा कृषक छैल विहारी कुम्हार लगायतले बोलेका थिए । कृषकले उत्पादनको मूल्य र बजारीकरणमा ठूलो समस्या रहेको बताए । 

कार्यक्रममा वडा नम्बर १७ का वडा अध्यक्ष लक्ष्मण प्रसाद बर्मा, कार्यपालिका सदस्यहरु, वडा नम्बर १७ का वडा सदस्यहरु, नेपालगञ्ज उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख गोर्ख बहादुर थापा, कृषि विकास शाखा प्रमुख अम्बिका रिजाल, अन्य विभिन्न शाखाका प्रमुख, कृषक, विद्यार्थी लगायतको उपस्थिति रहेको प्रगतिशिल कृषक समूहका सचिव गया प्रसाद काँदुले जानकारी दिए । 

कार्यक्रम सञ्चालन कृषि विकास शाखाका नायब प्राविधिक सहायक भुवन प्रसाद पन्तले गरेका थिए । पन्तका अनुसार औपचारिक कार्यक्रम पश्चात् सामूहिक धान रोपाइँ गरिएको थियो । त्यस अवसरमा विद्यार्थीबीच ’हिले दौड’ पनि आयोजना गरिएको थियो । 

यस वर्ष देशभर ’धान बालीमा सघनताः खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने मूल नाराका साथ २२औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइएको छ ।

प्रतिक्रिया