नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालन भइरहेको 'हरित नेपालगञ्ज सामुदायिक फोहोर रूपान्तरण परियोजना' को प्रभावकारी कार्यान्वयनका लागि बास नेपालको आयोजनामा समन्वय बैठक शुक्रबार सम्पन्न भएको छ ।
द कोकाकोला फाउण्डेशनको सहयोग, नेपालगञ्ज उपमहानगरपालिकाको सहकार्य तथा बास नेपाल र स्वच्छ सफा नेपालद्वारा सञ्चालित परियोजनाको हालसम्मको प्रगति समीक्षा, आगामी कार्ययोजना निर्माण र सरोकारवालाबीच समन्वय तथा सहकार्य थप प्रभावकारी बनाउने उद्देश्यले बैठक आयोजना गरिएको बास नेपालका परियोजना अधिकृत रविन्द्र बोहराले बताए ।
बैठकमा सरोकारवाला निकायका प्रतिनिधिहरू सहभागी थिए । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर बमले फोहोर ब्यवस्थापनमा शून्य सहनशिलता अपनाउँदै अब दण्ड र जरिवानाको नीति अख्तियार गरेर अघि बढ्ने स्पष्ट पारे । त्यसका लागि नगर प्रहरी थप्ने तयारीमा रहेको उनले बताए । सरोकारवालाहरुले फोहोर ब्यवस्थापनमा सबैको हातेमालो र संकल्प आवश्यक रहेको भन्दै सामुदायिक सशक्तिकरण र अग्रसरताले मात्रै दीर्घकालीन प्रभाव पार्ने बताए ।
बैठकमा वडा नम्बर ९ का वडा अध्यक्ष गोविन्द रेग्मी, सामाजिक विकास शाखा प्रमुख कृष्ण प्रसाद जोशी, वातावरण तथा सरसफाई शाखा प्रमुख प्रकाश डिसी, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, बास नेपालका अध्यक्ष शिव कुमार बर्मा, गैरसरकारी संस्था महासंघ नेपाल बाँकेका सहसचिव गणेश प्रसाद भट्टराई लगायत सरोकारवालाको उपस्थिति थियो । नेपालगञ्ज उपमहागरपालिकामा दैनिक करिब ३७ टन फोहोर उत्पादन हुने गर्दछ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार