नेपालगञ्ज : बाँकेको जानकी गाउँपालिका–५ स्थित गुरुवा गाउँको करिब एक शताब्दी पुरानो शिव मन्दिर पुनर्निर्माण सम्पन्न भएको छ। जीर्ण बनेको मन्दिर वडा कार्यालयको पहलमा पुनर्निर्माण भएपछि स्थानीयवासीमा धार्मिक उत्साह र सांस्कृतिक गौरव बढेको छ।
वडा नं. ५ का अध्यक्ष टिकानाथ यादवका अनुसार प्राकृतिक प्रभावका कारण जीर्ण बनेको मन्दिरको संरक्षणका लागि वडाको मर्मत शीर्षकअन्तर्गत करिब दुई लाख रुपैयाँ बजेट विनियोजन गरी पुनर्निर्माण गरिएको हो। उहाँका अनुसार मन्दिर गाउँको धार्मिक, सांस्कृतिक र सामाजिक जीवनको महत्वपूर्ण केन्द्र हो।
स्थापनाकालदेखि नै मन्दिरमा हरेक शुक्रबार भजन–कीर्तन तथा महाशिवरात्रि, तीज र श्रीकृष्ण जन्माष्टमीलगायतका धार्मिक कार्यक्रम हुँदै आएका छन्। केही वर्षयता मन्दिर जीर्ण बन्दा श्रद्धालुको उपस्थिति घटेको भए पनि पुनर्निर्माणपछि धार्मिक गतिविधि थप सक्रिय हुने अपेक्षा गरिएको छ।
मन्दिर नजिकै मुस्लिम समुदायको बाक्लो बसोबास तथा मस्जिद रहेको छ। फरक–फरक धर्मावलम्बी समुदायबीच लामो समयदेखि कायम रहेको आपसी सम्मान, सहकार्य र सद्भावलाई मन्दिरले थप मजबुत बनाएको वडा अध्यक्ष यादवले बताए । उनका अनुसार गाउँमा हिन्दू र मुस्लिम समुदायले एकअर्काको धार्मिक आस्थाको सम्मान गर्दै सहअस्तित्वको उदाहरण प्रस्तुत गरेका छन्।
उनले गाउँपालिका अध्यक्ष छब्बन खाँको नेतृत्वमा गाउँपालिकाभित्र रहेका मन्दिर, मस्जिदलगायत धार्मिक संरचनाको संरक्षण र निर्माणलाई समान प्राथमिकता दिइएको जानकारी दिए ।
स्थानीयवासीका अनुसार पुनर्निर्मित शिव मन्दिरले धार्मिक आस्था, सांस्कृतिक परम्परा, सामाजिक सद्भाव र सामुदायिक एकतालाई थप सुदृढ बनाएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार