Listen LIVE

फत्तेपुरमा स्वास्थ्य चौकीमा ल्याब सेवा शुरु

नेपालगञ्ज : स्वास्थ्य सेवा पहुँचभन्दा टाढा रहेका बाँकेको राप्तीसोनारी गाउँपालिकाका नागरिकका लागि अब सामान्य स्वास्थ्य परीक्षणका लागि नेपालगञ्ज धाउनुपर्ने बाध्यता क्रमशः अन्त्य हुँदै गएको छ । गाउँमै गुणस्तरीय स्वास्थ्य सेवा विस्तार गर्ने अभियानअन्तर्गत राप्तीसोनारी गाउँपालिका–७ स्थित फत्तेपुर स्वास्थ्य चौकीमा ल्याब सेवा सञ्चालनमा आएसंगै स्थानीयले राहत पाएका छन् । 

गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेलले एक कार्यक्रमकाबीच शुक्रवार ल्याब सेवाको शुभारम्भ गर्दै स्वास्थ्य सेवामा नागरिकको सहज पहुँच सुनिश्चित गर्नु स्थानीय सरकारको प्रमुख दायित्व भएको बताए । उनले गाउँपालिकाका सबै वडामा आधारभूत स्वास्थ्य सेवा विस्तार गर्ने नीति अनुरूप ल्याब सेवा विस्तार गरिएको बताउँदै अब राप्तीसोनारीका आठ वटा वडामा ल्याब सेवा सञ्चालनमा आएको जानकारी दिए ।

'स्वास्थ्य परीक्षणका लागि नागरिकले नेपालगञ्ज वा कोहलपुर पुग्नुपर्ने अवस्था क्रमशः अन्त्य हुँदै गएको छ अध्यक्ष पौडेलले भने–'गाउँमै सेवा उपलब्ध हुँदा समय, खर्च र सास्ती तीनै कुराको बचत हुने भएकाले यसको प्रत्यक्ष लाभ स्थानीय नागरिकले पाउनेछन् ।

यसअघि सामान्य रगत, पिसाब वा अन्य प्रयोगशाला परीक्षणका लागि पनि पालिकाबाहिर जानुपर्ने बाध्यता थियो । अहिले भने फत्तेपुर स्वास्थ्य चौकीमै ल्याब सेवा सञ्चालन भएपछि बिरामीले सहज, छिटो र कम खर्चमा परीक्षण सेवा पाउन थालेका छन् । विशेषगरी ज्येष्ठ नागरिक, गर्भवती महिला, दीर्घरोगी तथा आर्थिक रूपमा कमजोर परिवारलाई यसबाट ठूलो राहत मिल्ने वडा नं. ७ का अध्यक्ष राम लखन थारूले बताए । 

गाउँमै ल्याब सेवा सुरु हुनु स्थानीयका लागि महत्वपूर्ण उपलब्धि भएको उनको भनाइ छ । Úस्वास्थ्य सेवाको सहज पहुँच नागरिकको आधारभूत अधिकार हो । अब सामान्य परीक्षणका लागि टाढा जानुपर्ने बाध्यता हटेको छ । यसले समयसँगै आर्थिक भार पनि घटाउने छ उनले भने ।

। 

राप्तीसोनारी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख देबेन्द्र केसीका अनुसार पालिकाले चरणबद्ध रूपमा स्वास्थ्य संस्थाको क्षमता अभिवृद्धि गर्दै ल्याब सेवा विस्तार गरेको हो । 'आठ वटै वडामा ल्याब सेवा सञ्चालनमा आएपछि रोगको समयमै पहिचान, उपचारमा सहजता र स्वास्थ्य सेवाको गुणस्तरमा सुधार आउने विश्वास गरेका छौं–' उनले भने । 

स्थानीयवासीले पनि गाउँमै ल्याब सेवा उपलब्ध भएपछि स्वास्थ्य परीक्षण सहज भएको, अनावश्यक यात्रा र अतिरिक्त खर्चबाट मुक्ति मिलेको तथा आवश्यक सेवा समयमै प्राप्त गर्न सकिने वातावरण बनेको बताए ।

प्रतिक्रिया