Listen LIVE

नेपालगञ्ज बजारमा भारतीय आँपको बिगबिगी

नेपालगञ्ज : सर्वसाधारण नेपालीलाई भारतबाट आँप ल्याउन रोक लगाइएको छ। सीमापारि रुपईडिहाबाट दुई किलो आँप लिएर आएका सर्वसाधारणलाई समेत नेपाल–भारत सीमा नाका जमुनाहाबाट फिर्ता पठाउने गरिएको छ।

तर, नेपालगञ्जका बजारमा भने भारतबाट ल्याइएका आँप खुलेआम बिक्री भइरहेको स्थानीयले बताएका छन्। भारतीय नागरिकले भारतबाट ल्याएका आँप दैनिक ठुलो परिमाणमा महँगो मूल्यमा बिक्री गरिरहेको उनीहरूको भनाइ छ।

नेपालगञ्ज–११ ईदगाह रोडका राजु जसगढले त्रिभुवन चोकदेखि अस्पताल रोड, धम्बोझी चोक, त्रिवेणी मोड र बीपी चोकलगायतका बजार क्षेत्रमा साइकल, ठेला र पसलबाट भारतीय आँप बिक्री भइरहेको बताए।

'भारतबाट दुई किलो आँप किनेर ल्याउँदा सुरक्षाकर्मीले फर्काइदिए। तर यति धेरै आँप बजारमा कसरी आयो भन्ने प्रश्न उठेको छ,' उनले भने।

नेपालगञ्ज सदरलाइनका जावेद राईले जमुनाहा नाकाबाट आँप ल्याउन नपाउने उपभोक्ता बजारमा पुग्दा जताततै भारतीय नागरिकले भारतीय आँप बिक्री गरिरहेको देखेर आश्चर्यचकित हुने गरेको बताए।

नेपालगञ्ज र आसपासका क्षेत्रमा आँप उत्पादन न्यून रहेकाले स्थानीय उपभोक्ता भारतबाट आउने आँपमा निर्भर छन्। यस पटक सीमापारिबाट आँप ल्याउन नपाएपछि उपभोक्ता महँगो मूल्य तिरेर आँप किन्न बाध्य भएको गुनासो गरेका छन्।

नेपालगञ्ज बजारमा अहिले भारतबाट ल्याइएका आँप प्रतिकिलो दुई सयदेखि दुई सय ५० रुपैयाँसम्म बिक्री भइरहेको स्थानीयको भनाइ छ। नेपालगञ्ज–७ गगनगञ्जका दिनेश मानन्धरले रुपईडिहामा ७० देखि ८० रुपैयाँ प्रतिकिलो पर्ने आँप नेपालगञ्जमा दुई सय रुपैयाँभन्दा बढीमा किन्नुपरेको बताए।

नेपालगञ्जको त्रिभुवन चोकमा आँप बिक्री गरिरहेका भारत नवाबगञ्जका रमेश मौर्यले नाकामा आँप ल्याउन रोक लगाइएको भए पनि आफूहरूले जुगाड गरेर ल्याउने गरेको स्वीकार गरे। उनले दैनिक एकदेखि दुई क्यारेटसम्म आँप ल्याउने गरेको बताए। एक क्यारेटमा २० किलो आँप हुन्छ।

सीमापारिबाट खानका लागि आँप ल्याउन नपाएपछि यस पटक राम्रोसँग आँप खान नपाएको अधिकांश स्थानीयको गुनासो छ।

यता, जमुनाहा नाकामा खटिएका सुरक्षाकर्मीले केरा र आँप नेपाल ल्याउन रोक लगाइएको बताएका छन्। ड्युटीमा रहेका एक प्रहरीले केरा र आँपलगायत प्रतिबन्धित वस्तु नेपाल भित्र्याउन कडाइ गरिएको जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अंगुर जिसीले केरा, आँपलगायत रोक लगाइएका वस्तु भारतबाट ल्याउन नदिइएको बताउँदै बजारमा भारतीय आँप कसरी पुग्यो भन्ने विषयमा छानबिन गरिने जानकारी दिए।

प्रतिक्रिया