नेपालगञ्ज : स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जारी गरेको कर्मचारी आचारसंहिता–२०८३ को प्रभावकारी कार्यान्वयन गर्दै नेपालगञ्जस्थित भेरी अस्पतालले सेवाप्रवाहलाई थप व्यवस्थित र प्रभावकारी बनाउन नियमित अनुगमन सुरु गरेको छ।
अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा. नवीन दर्नाल का अनुसार सरकारको निर्देशनअनुसार स्वास्थ्य सेवालाई सर्वसाधारणका लागि सहज, सरल र गुणस्तरीय बनाउन अस्पताल प्रशासनले नियमित अनुगमनलाई प्राथमिकताका साथ अघि बढाएको हो।
अस्पतालका सूचना अधिकारी डा. संकेतकुमार रिसालले मेसु डा. दर्नालसहितको प्रशासनिक टोलीले ओपीडी (बहिरंग सेवा), प्रयोगशाला, टिकट (पर्चा) काउन्टर तथा स्वास्थ्य बीमा काउन्टरलगायत सेवा प्रवाह हुने विभिन्न इकाइको स्थलगत अनुगमन सुरु गरेको जानकारी दिए।
उनका अनुसार अनुगमनका क्रममा ड्युटी समयमा कार्यस्थलमा अनुपस्थित भेटिने चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि प्रचलित कानुन तथा नियमावलीबमोजिम कारबाही गरिने स्पष्ट निर्देशन दिइएको छ। अस्पताल प्रशासनले समयपालना, कार्यअनुशासन र सेवाप्रतिको उत्तरदायित्वलाई कडाइका साथ कार्यान्वयन गर्ने जनाएको छ।
मेसु डा. दर्नालले बिहानको समयमा बिरामीको चाप अत्यधिक हुने भएकाले ओपीडी टिकट (पर्चा) काट्ने समय बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म निर्धारण गरिएको बताए। उनले अपराह्न ४ बजेसम्म टिकट लिएका सबै बिरामीले उपचार सेवा पाउने सुनिश्चित गर्न चिकित्सकहरू साँझ ५ बजेसम्म अनिवार्य रूपमा ओपीडीमा उपस्थित रहने व्यवस्था गरिएको जानकारी दिए।
अस्पतालले सेवाग्राहीलाई तोकिएको समयभित्र टिकट काटी निर्धक्क रूपमा स्वास्थ्य सेवा लिन आग्रह गरेको छ। गुणस्तरीय, जिम्मेवार र सेवाग्राहीमैत्री स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिबद्धताअनुसार सेवा व्यवस्थापनमा आवश्यक सुधार तथा नियमित अनुगमनलाई निरन्तरता दिइने मेसु डा. दर्नालले बताए।
नेपालगञ्जस्थित भेरी अस्पताल पश्चिम नेपालका प्रमुख सरकारी अस्पतालमध्ये एक हो। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका बिरामीलाई सेवा प्रदान गर्दै आएको यस अस्पतालबाट वार्षिक रूपमा करिब डेढ लाख सेवाग्राहीले उपचार सेवा लिँदै आएका छन्।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार