Listen LIVE

योजनाको काम अघि बढाउन मन्त्री खत्रीको निर्देशन

नेपालगञ्ज : लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार विकासमन्त्री रत्न खत्रीले आगामी आर्थिक वर्षका आयोजनाहरू साउन महिनादेखि नै कार्यान्वयनमा लैजान निर्देशन दिएका छन् । 

मन्त्रालयमा आयोजित धन्यवाद ज्ञापन कार्यक्रममा मन्त्री खत्रीले भने, 'साउनभित्र अन्य आन्तरिक प्रक्रिया पूरा गरी भदौंमा ठेक्का आह्वान गर्नुहोस् । विकासका लागि असार कुर्ने परिपाटी हटाउन अहिलेदेखि लाग्नुहोस् ।'

मन्त्री खत्रीले आगामी आर्थिक वर्षका लागि बहुवर्षीय आयोजनामा पर्याप्त बजेट विनियोजन गरिएको जानकारी दिँदै वर्षौदेखि सुस्त गतिमा अघि बढेका आयोजना अब द्रुत गतिमा अघि बढ्ने विश्वास व्यक्त गरे । 

उनले लुम्बिनी प्रदेश सभाले पारित गरेको बजेट कुनै निश्चित निर्वाचन क्षेत्र केन्द्रित नभई प्रदेश केन्द्रित गरिएको बताए । बजेट सन्तुलित ढङ्गले ल्याइएको उनको भनाइ छ । 

मन्त्री खत्रीले बजेट निर्माणमा अहोरात्र खटिने मन्त्रालयका सचिव राम पराजुली सहितको टोलीलाई धन्यवाद ज्ञापन गरे । सो अवसरमा मन्त्रालयका सचिव राम पराजुलीले राजनीतिक दबाबबाट मुक्त भई आगामी आर्थिक वर्षका लागि बजेट निर्माण गरिएको बताउँदै केही सन्दर्भमा कर्मचारी तहबाट मानवीय र प्राविधिक कमजोरी भएको स्वीकार गरे ।

प्रतिक्रिया