Listen LIVE

सीमापारि जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल

नेपालगञ्ज : नेपालगञ्जस्थित जमुनाहा नाकामा कडाई गरिएपछि यसपटक सीमावर्ती भारतीय बजार रुपइडिहामा दसैँको किनमेल गर्ने नेपाली उपभोक्ताको भीड घटेको छ । दसैँ र तिहारजस्ता ठूला पर्व नजिकिँदै गर्दा विगतका वर्षमा बाँकेको सीमावर्ती भारतीय बजार रूपइडिहामा पाइला टेक्ने ठाउँ हुँदैन थियो । दसैँको नयाँ लुगा, घरका लागि चाहिने उपभोग्य सामग्री किनमेल गर्न जमुनाहा नाका हुँदै दैनिक ठूलो सङ्ख्यामा नेपाली उपभोक्ता सीमापारि जाने गर्दथे ।

यसपटक भने रूपइडिहा बजारको त्यो पुरानो रौनकता र चहलपहल हराएको छ । सीमावर्ती भारतीय बजारमा नेपालीको भीड घट्नुका पछाडि मुख्य गरी सीमा नाकामा गरिएको कडाइ र भन्सार सम्बन्धी नयाँ नियम नै प्रमुख कारण रहेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताए । गत वैशाखदेखि नेपालगञ्ज भन्सार नाकाबाट रु १०० भन्दाबढी मूल्यका सामान बिनाभन्सार नेपाल ल्याउन रोक लगाइएको थियो ।

उक्त सीमा बढाएर हाल ५०० पुर्याइएको छ । अघिल्ला वर्षमा चाडपर्वका बेला नेपाली ग्राहकले भरिभराउ हुने रूपइडिहाका पसल यसपटक सुनसान देखिएका छन् । दुवैतर्फ जाँच र लामो लाइन बस्नुपर्ने भएकाले सीमा पारी जाने उपभोक्ता घटेको नेपालगञ्ज–२१ पुरैनाकी सिर्जना थापाले बताइन् । ५०० भन्दाबढीको सामान भन्सार जाँच गर्नुपर्ने व्यवस्थाले उपभोक्ता रुपइडिहा जान छाडेका छन् ।

नेपाली उपभोक्ताको आवागमन कम भएपछि रूपइडिहा बजार सुनसान बन्दै गएको उनको भनाइ छ । सीमापारी रुपैडिहा बजार जाने उपभोक्ताको सङ्ख्या घटेसँगै नेपालगञ्जका …सपिङ मलÚमा भीडभाड बढेको छ । नेपालगञ्जको भाटभटेनी, वेष्टर्न मार्ट लगायत सुपर स्टोरमा नेपाली उपभोक्ताको आकर्षण बढेको उपभोक्ता अधिकारकर्मी प्रभातकुमार ठकुरीले बताए ।

उनले भन्सार कडाइले सीमापारी जान रोकिएका उपभोक्तालाई नेपालगञ्जमै किनमेलको वातावरण बनाउन यहाँका व्यापारी, उद्योग वाणिज्य सङ्घले पहल गर्नुपर्ने बताए । चाडपर्वका बेला नेपाली बजारमा व्यापारीले मूल्यवृद्धि र वस्तुको अभाव गराउने कार्यलाई निरुत्साहित गर्न बजार अनुगमनलाई ध्यान दिनुपर्ने उनको सुझाव छ ।

सीमापारी भारतीय बजार रुपइडिहामा किनमेलका लागि जाने उपभोक्ता घटे पनि स्थानीय बजारमा खरिदर सोही अनुपातमा नबढेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष चिरञ्जीवी ओलीले जानकारी दिए । उनका अनुसार, तस्करी विगतको तुलनामा घटेको अनुमान छ । मुख्य नाकामा कडाइ भए पनि खुला सीमाका कारण भित्री नाकाबाट हुनसक्ने तस्करी रोक्न ती क्षेत्रमा निगरानी बढाउनुपर्ने देखिन्छ ।

प्रतिक्रिया