म्याग्दी : हिमाली जिल्ला म्याग्दीको सुन्तला पकेट क्षेत्रका रुपमा रहेका बेनी नगरपालिका –३ र ४ मा बिक्री गर्ने समय हुन लागेको सुन्तला झर्दा किसान चिन्तित भएका छन् ।
बेनी नगरपालिका –४ बास्कुनाका कृषकहरुको बगानका सुन्तला आफैँ झर्न थालेपछि उनीहरुलाई चिन्ता परेको हो । सु्न्तला झरेर सकिने होकि भनेर चिन्ता थपिएको कृषकको भनाइ छ ।
अवको एक महिनाभित्र बेचेर सकिने सुन्तला झर्दा निकै चिन्ता थपेको छ, ‘कृषक सन्दीप खत्रीले बताए । बास्कुना क्षेत्रको ठुलो बगान रहेका खत्रीले भने–‘सुन्तला झर्न थालेपछि कृषि ज्ञान केन्द्र, बेनी नगरपालिकाको कृषि शाखा तथा गण्डकी प्रदेशबाट समेत प्राबिधिक बोलाएर नमुना संकलन गरेर लगेको भए पनि झर्नुको कारण भने खुल्न सकेको छैन ।’
सुन्तलामा प्रयाप्त मात्रामा सिँचाइ पनि पुगेकै हो, तर पनि सुन्तला झर्नुको कारण पत्ता लागेको छैन । औंशा किरा परेर, सिँचाइको मात्रा नपुगेर वा फ्रुट फ्लाइ नाम किराको आक्रमणबाट गरी यो तीन कारणले सुन्तला झरेको हुन सक्ने भनेर प्राविधिहरुले भनेता पनि एकिन कारण भने खुल्न सकेको छैन–उनले भने ।
म्याग्दीको बेनी आइपुग्नु भएकी कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्मा जिसी श्रेष्ठले बास्कुनाका कृषकहरुका सुन्तलाप्रति चासो राख्दै झर्नुको कारण चाँडो पत्ता लगाउन भनेको बताए । उनले भने–‘यो वर्ष झर्न थालेकोलाई रोक्न नसकिएला अर्को सालका लागि समस्या समाधानका लागि चाडै कारण पत्ता लगाएर कृषकलाई सहयोग गरिनेछ ।’
अर्का कृषक नरबहादुर खत्रीले आफूले सुन्तला खेती गर्न लागेको २० औं वर्ष भए पनि यतिका धेरै सुन्तला झरेको यसभन्दा अघि कहिल्यै नदेखेको बताए । उनले भने–‘सबैलाई जानकारी गराउने र गण्डकी प्रदेशबाटै समेत प्राविधिक झिकाएर निरीक्षण गर्न लगाएको भए पनि कारण पत्ता नलाग्दा कृषक चिन्तित हुनु परेको छ ।’
कृषि ज्ञान केन्द्रकी सूचना अधिकारी गंगा लामिछानेले सुन्तला बगानमा गएर नमुना संकलन गरेर प्रदेशमा पठाइएको भए पनि त्यसको आधिकारिक केही कारणबाट जानकारी नआएको बताइन् । उनले कृषकहरुले समस्याको बारेमा बताएको भए पनि त्यसमा गएर अनुसन्धान गर्दा पनि थप कारण पत्ता नलागेकाले ल्याब परीक्षणकै लागि नमुना पठाइएको बताइन् ।
बेनी नगरपालिका–४ बास्कुना क्षेत्रमा मात्र गत वर्ष ७५–८० लाख रुपैयाँको सुन्तला बिक्री भएको थियो । त्यस्तै, बेनी नगरपालिका –३ को राखु तथा मरेक क्षेत्रबाट पनि त्यत्ती नै मात्रामा सुन्तला बिक्री भएको बेनी नगरपालिका –४ का वडा सदस्य समेत रहेका बास्कुनाका कृषक सन्दीप खत्रीको भनाइ छ । यस वर्ष गत वर्षभन्दा सुन्तला राम्रो फलेको भए पनि बिक्रीको समयमा झर्न थाल्दा समस्या भएको उनको भनाइ छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार