Listen LIVE

चौध मेडिकललाई निलम्बन गर्दै कारबाही

नेपालगञ्ज : औषधि व्यवस्था विभागको शाखा कार्यालय नेपालगञ्जले चालू आर्थिक वर्ष २०८२–०८३ को फागुन महिनासम्म ४४१ वटा औषधि पसलको अनुगमन तथा निरीक्षण गरेको छ । कार्यालयका अनुसार ४०० औषधि पसल अनुगमन गर्ने लक्ष्य राखिएकोमा लक्ष्य भन्दा बढी अर्थात करिब ११० प्रतिशत अनुगमन सम्पन्न गरिएको हो ।

अनुगमनका क्रममा व्यवसायी उपस्थित नभएको, बिना दर्ता औषधि पसल सञ्चालन गरेको, म्याद नाघेका औषधि फेला परेको लगायतका कैफियत देखिएपछि १४ वटा औषधि पसललाई निलम्बन गर्दै कारबाही गरिएको कार्यालयले जनाएको छ । विभागलाई आवश्यक परेमा अधिकतम ६ महिनासम्म पसल शील गर्ने अधिकार रहेको छ । निलम्बनमा पर्ने पसलहरू कैलाली, कञ्चनपुर, बाँके, सुर्खेत लगायतका जिल्लाका रहेका छन् ।

अनुगमनपछि १४ वटा मुद्दा समेत अदालतमा दर्ता गरिएको छ । शाखा कार्यालयका फार्मेसी सुपरभाइजर निरीक्षक दिनेशराज न्यौपानेका अनुसार बिना इजाजत औषधि पसल सञ्चालन गर्ने, दर्ता नभएका औषधि बिना अनुमति पैठारी गर्ने, अवैध रूपमा औषधि आयात गर्ने तथा औषधिको अनुचित प्रयोग वा दुरुपयोग गर्ने जस्ता कसुरमा मुद्दा दर्ता भएका हुन् ।

यस्तै विभागले कार्यालयमा आउने उजुरीहरूको फछ्र्यौटमा पनि सक्रियता देखाएको छ । स्थानीय प्रशासनबाट प्राप्त चार वटै उजुरीको फछ्र्यौट गरिसकिएको छ भने नागरिकबाट आएका ६ वटा उजुरीमध्ये चार वटा उजुरीको टुंगो लगाइसकिएको फार्मेसी सुपरभाइजर न्यौपानेले जानकारी दिए । । यस अवधिमा शाखा कार्यालय नेपालगन्जले बजार अनुगमनका क्रममा संकलन गरिएका ४५ प्रकारका औषधि गुणस्तर परीक्षणका लागि काठमाडौं पठाएको छ ।

बजार अनुगमनका क्रममा पछिल्लो समय व्यवसायी स्वयं पसलमा उपस्थित नहुने, फार्मेसीबाट न्यूट्रा प्रोडक्ट (खाद्यपूरक) को बिक्री–वितरण बढ्दो जस्ता समस्या देखिएको न्यौपानेले बताए । व्यवसायीलाई पटक–पटक सचेत गरिए पनि अटेरी गर्ने प्रवृत्ति देखिएमा विभागले कारबाहीको दायरामा ल्याउने गरिएको उनले उल्लेख गरे ।

स्रोत–साधनको तुलनामा कार्य क्षेत्र अत्यन्तै ठूलो रहेको शाखा कार्यालयले जनाएको छ । नेपालगन्ज शाखाले लुम्बिनी प्रदेशका ६ जिल्ला–बाँके, बर्दिया, दाङ, पूर्वी रुकुम, प्यूठान र रोल्पासहित कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा रहेका औषधि पसलको अनुगमन तथा निरीक्षणको जिम्मेवारी सम्हाल्दै आएको छ । यसरी हेर्दा कार्यालयले कुल २५ जिल्लाको नियमन तथा निरीक्षण गर्ने जिम्मेवारी पाएको छ ।

हाल विभागको शाखा कार्यालय नेपालगञ्जमा प्राविधिक जनशक्ति चार जनाको मात्र दरबन्दी रहेको छ । जनशक्ति र स्रोत–साधनको अभाव हुँदाहुँदै पनि औषधि व्यवस्था विभाग नेपालगञ्ज शाखाले आफ्नो जिम्मेवारीलाई प्रभावकारी रूपमा निर्वाह गर्दै आएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया