हुम्ला : ग्रीन हाउसमा उत्पादन गरेको प्याजका बेर्ना बिक्रीबाट एक जना किसानले ६० हजार रुपैयाँ आम्दानी गरेका छन् । पछिल्लो समय प्याज खेतीलाई व्यावसायिक रुपमा थालिएपछि प्याजको बेर्ना पनि आम्दानीको स्रोत बनेको हो ।
सिमकोट गाउँपालिका– ५ की अगुवा किसान गीता रोकायाले यस पटक प्याजका बेर्ना बिक्री गरेर ६० हजार आम्दानी भएको बताइन् । उनले ग्रीन हाउसमा उत्पादन गरेको बेर्ना लगाउने समय भएपछि बिक्री सुरु गरिएको बताइन् । बिगत तीन वर्षदेखि प्याजका बेर्ना उत्पादन गरेर बिक्री गर्दै आउनुभएको रोकायाको आम्दानीको स्रोत बेर्ना भएको छ ।
बेर्ना प्रति बोट एक रुपियाँ वा मुठ्ठाको एक सय रुपैयाँमा बिक्री गर्ने गरेको जानकारी उनले दिइन् । जिल्लामा प्याजको व्यावसायिक खेती सुरु भएपछि बेर्ना बिक्री राम्रो हुन थालेको बताउँदै उनले आफुलाई राम्रो फाइदा भएको बताइन् । उनले वर्षमा तीन लटमा प्याजका बेर्ना उत्पादन गर्दै आएकी छन् । रोकायाले कृषिसँग सम्बन्धित काम गर्ने निकायबाट तालिम लिएर तरकारी तथा फलफूल खेती गर्दै आएकी छन् । जिल्लामा प्याज खेती हुन थालेपछि बाहिरबाट प्याज आयातमा कमी आउन थालेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार