जाजरकोट : जाजरकोटमा उत्पादित सुन्तला बिक्रीबाट २२ करोड रुपियाँभन्दा बढी आम्दानी भएको छ ।
कृषि विकास कार्यालय जाजरकोटका अनुसार यस वर्षमा सुन्तला बिक्रीबाट जिल्लाका किसानले २२ करोड दुई लाख ७१ हजार ५०८ रुपियाँ आम्दानी गरेका छन् ।
कार्यालयका अनुसार जिल्लाबाट करिब दुई हजार ७५३ मेट्रिक टन सुन्तला निर्यात भएको छ । जिल्लामा कुल ६७० हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिँदै आएको छ । कार्यालयका सूचना अधिकारी नवीनराज आचार्यले गत वर्षको तुलनामा किसानले बोटबाटै राम्रो मूल्य पाएका कारण सुन्तलाको बजारीकरणमा समस्या नपरेको जानकारी दिए ।
यस वर्ष बोटबाटै ५० देखि ८० रुपैयाँ प्रतिकिलोग्रामसम्म सुन्तला बिक्री भएको छ । किसानले सुरुमा बोटबाटै ५० रुपियाँमा बिक्री गरेकोमा अन्तिम समयसम्म प्रतिकेजी ८० रुपियाँसम्म मूल्य पाएका थिए ।
जिल्लाको कुसे गाउँपालिका, नलगाड नगरपालिका, छेडागाड नगरपालिका, शिवालय गाउँपालिका, भेरी नगरपालिका, बारेकोट गाउँपालिकामा सुन्तला उत्पादन हुने गरेको छ । किसानको खेतबारीमै पुगेर मल प्रयोग, काँटछाँट तथा औषधी दिनेसम्मको प्राविधिक सहायता दिएर किसानलाई सहयोग गरिरहेको सूचना अधिकारी आचार्यले बताए ।
कुसे–५, दमदालाका किसान शिवबहादुर मल्लले पछिल्लो समय सुन्तला खेतीबाट राम्रो आम्दानी गरिरहेको बताउँछन् । पहिले सुन्तलाका लागि बजारको समस्या रहेको भए पनि अहिले सुर्खेत, नेपालगञ्जबाट व्यापारीहरू बारीमै पुग्ने गरेको उनले जानकारी दिए ।
पहिले अन्नबाली लगाउने खेतबारीलाई किसानले आजकल सुन्तला बारी बनाउन लागेको कुसे–५, ढिमेका प्रेम मल्ल बताउँछन् । खेतीपातीभन्दा सुन्तलाबाट निकै आम्दानी हुन थालेपछि यसतर्फ आकर्षित भएको उनको भनाइ छ ।
पछिल्लो समय जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि विकास कार्यालयलगायत निकायबाट कृषकका लागि प्राविधिक तथा यान्त्रिकीकरणको सहयोग हँुदै आएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जाजरकोटका निमित्त प्रमुख गणेशबहादुर थापाले परियोजनाबाट जोन तथा सुपरजोनसमेत गरेर ६७० हेक्टर क्षेत्रफलमा सुन्तला खेतीका लागि विभिन्न सहयोग गरिँदै आएको बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार