Listen LIVE

धान भित्र्याउन व्यस्त दाङका किसान

दाङ : दाङको राप्ती गाउँपालिका–७, पहरूवा निवासी किसान चोटाराम चौधरीलाई चाडपर्वभन्दा पाकेको धान भित्र्याउने चटारो बढी छ । जल तथा मौसम विज्ञान विभागले सार्वजनिक गरेको सूचना अनुसार असोज २० गतेसम्म ठुलो वर्षा हुने भएपछि खेतमा काटेको धान थ्रेसरबाट दाउन लागेको चौधरीले बताए । 

उनले पानी परेपछि डुबानमा पर्ने खेत भएकाले हतार हतार काटेको धान भित्र्याउन थालेको बताए । बाह्र कट्ठामध्ये काटेको दुई कट्ठाको धान दाउन थालेको भन्दै उनले भने, “दसैँअघिसम्म बिस्तारै काट्दै थियौँ, तर अब पानी पर्ने डरले काटेको धान तुरुन्तै थ्रेसरमा हालेर झार्दै छौँ ।” उनले गाउँघरमा सबै मिलेर काटेको धान चिसै भए पनि भित्र्याउन लागेको बताए । 

चोटाराम चौधरी जस्तै राप्ती गाउँपालिका–५ कालापानी निवासी सीमा चौधरीले पनि खेतमा काटेको धान थ्रेसरबाट दाउने तयारीमा लागेको बताइन् । उनले काटेको धान पानीले नोक्सान गर्ने डरका कारण थोरै भए पनि भित्र्याउन लागेको बताइन् । खेतमा धान पाकेर सबै काट्ने भए पनि पानी पर्ने जस्तो मौसम हुनेबित्तिकै काटेको चाहिँ झार्ने तयारीमा लागेको बताइन् ।

कृषि ज्ञान केन्द्र दाङका अनुसार जिल्लाको ६९ हजार ९५० हेक्टर खेतीयोग्य जमिनमध्ये ६५ हजार ९८० हेक्टर जमिनमा खेती हुने गरेको छ ।

प्रतिक्रिया