नेपालगञ्ज : राष्ट्रिय प्रजातान्त्र पार्टीका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य डा. धवलशम्शेर राणालाई क्यान्सर भएको पुष्टि भएको छ । भारतको मुम्बईमा उपचारको क्रममा डा. राणालाई गिजाको क्यान्सर भएको पुष्टि भएको राणा निकट राप्रपाका सहमहामन्त्री ऋषिराज देवकोटाले जानकारी दिए ।
डा. राणाको लामो समयदेखि गिजा दुख्ने समस्या भएपछि हालैमात्र क्यान्सर भएको देवकोटाले बताए ।
राप्रपा सहमहामन्त्री देवकोटाले भने, ‘मेरो आज आइतबार बिहान मात्र डा. राणासँग कुराकानी भयो, पहिलो चरणको क्यान्सर भएकाले सहजै निको हुनेमा उहाँ (राणा) बिश्वस्त देखिनुभएको छ ।’ राणाको मुम्बइको पूण्यश्लोक अहिल्यादेवी हल्कर हेड एण्ड नेक क्यान्सर इन्स्टिच्यूट अफ इण्डियामा आउने मङ्ग्गलबार शल्यक्रिया हुने भएको छ ।
डा. राणाले सामाजिक सञ्जालमार्फत मङ्गलबार शल्यक्रिया हुने जानकारी गराएका छन् । डा. राणाले भनेका छन, ‘म चाँडैं राम्रो भएर देश र तपाईहरुको सेवा फर्किने जानकारी गराउँछु ।’
डा. राणाको साथमा उनकी पत्नी प्रतिमा राणालगायत रहेका छन् । डा. राणाको सुसुराली समेत भारतको मध्यप्रदेश राज्यको ग्वालियरमा हो । भारतीय राजनीतिमा प्रभावशाली मानिने सिन्धिया राजपरिवारकी छोरी प्रतिमासँग डा. राणाको विवाह भएको थियो ।
नेपालगञ्ज स्थायी घर भएका डा. राणा २०७९ को आमनिर्वाचनमा बाँके क्षेत्र नम्बर २ बाट प्रतिनिधीसभा सदस्यमा निर्वाचित भएका थिए । डा. राणा २०५४ देखि ५९ सम्म नेकपा (एमाले) को तर्फबाट नेपालगञ्ज नगरपालिकाको प्रमुख र पुनः २०७४ देखि २०७९ सम्म राप्रपाको तर्फबाट नेपालगञ्ज उप–महानगरपालिकाको प्रमुखको जिम्मेवारी सम्हालेका थिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार