Listen LIVE

तापक्रम बढेसँगै बाँकेसहित तराईको जनजीवन प्रभावित

यदुराज मिश्र/नेपालगञ्ज : साउन चौथो साता सकिन लाग्दासमेत पर्याप्त मनसुनी वर्षा हुन नसक्दा बाँकेसहित पश्चिम तराईमा गर्मी अत्यधिक बढेको छ । केही दिनयता मध्याह्नको तापक्रम ३७ देखि ३८ डिग्री सेल्सियससम्म पुग्न थालेपछि बाँकेसहित पश्चिम तराईको जनजीवन प्रभावित भएको छ ।

सूर्योदयदेखि साँझसम्म चर्को घाम लाग्ने र वर्षा भएलगत्तै पुनः टन्टलापुर घाम लाग्ने क्रमले गर्मी थप बढाएको स्थानीयको भनाइ छ । मध्याह्नमा घरबाहिर निस्कनसमेत कठिन हुने गरी गर्मी बढेपछि सर्वसाधारणको दैनिकी प्रभावित भएको छ । छहारीमा बस्दा पनि तर्तरी पसिना आउने र पंखाबाट समेत तातो हावा आउने गरेको उनीहरू बताउँछन् ।

नेपालगञ्जस्थित हावापानी फिल्ड कार्यालय राँझाका अनुसार बुधवार अधिकतम तापक्रम ३७ दशमलव ५ र न्युनतम तापक्रम २७ दशमलव ५ डिग्री सेल्सियर रहेको थियो । आज पनि सोही अनुपातमा तापक्रम रहेको कार्यालयले जनाएको छ ।

बाँकेमा मनसुन पूर्णरूपमा सक्रिय नभएका कारण अपेक्षित वर्षा हुन नसकेको र वर्षा रोकिएलगत्तै चर्को घाम लाग्दा वाष्पीकरण बढेर गर्मी थप चर्किएको विशेषज्ञहरुले बताएका छन् ।

वातावरण विज्ञका अनुसार केही दिनयता तराईमा 'लु' अर्थात् तातो हावाको प्रभाव बढ्न सक्ने छ । वर्षातका मौसममा पनि बाँकेलगायत आसपासका जिल्लामा तापक्रम बढ्न थालेकाले तातो हावाको जोखिम बढेको वातावरण विदको भनाई छ ।

बाँकेमा पर्याप्त वर्षात् नहुँदा गर्मी बढ्नुका साथै रोपिएको धान पनि सुक्न थालेको डुडुवा गाउँपालिका वडा नं. ६ का अध्यक्ष मोहनराम मिश्रले बताए ।

प्रतिक्रिया