Listen LIVE

अर्गानिक प्रदेशमै छ्यापछ्याप्ती विषादी

सुर्खेत : कर्णालीलाई प्रदेश सरकारले अर्गानिक प्रदेश घोषणा गरेको छ तर यहाँका तरकारीमा छ्यापछ्याप्ती विषादी देख्न थालिएको छ । मङ्गलबार मात्र दाङबाट ल्याइएको बोडीमा विषादी भेटिएपछि नष्ट गरिएको छ । ६४.६२ प्रतिशत अर्गानोफस्फेट नामक विषादी देखिएको हो । 

यस्तै गत वैशाख ८ गते सल्यानबाट ल्याइएको नौ क्विन्टल काउली नष्ट गरिएको थियो । परीक्षण गर्दा काउलीमा ९९ प्रतिशत अर्गानोफस्फेट नामक विषादी भेटिएको थियो । वैशाख २४ गते सुर्खेतकै झुप्राबाट ल्याइएको काँव्रmा पनि नष्ट गरिएको थियो । 

काँक्रामा ५३ प्रतिशत विषादी भेटिएको थियो । सोही मितिमा दाङबाट ल्याइएको १७५ केजी गोलभँेडा नष्ट गरिएको थियो । गोलभेँडामा ६२ प्रतिशत विषादी भेटिएको थियो । त्यसै गरी वैशाख ३० गते दैलेखको गुराँसबाट ल्याइएको फर्सीमा खान नमिल्ने विषादी शतप्रतिशत भेटिएपछि नष्ट गरिएको थियो । फर्सीमा ९९.२५ प्रतिशत विषादी भेटिएको थियो । परीक्षण केन्द्रमा कार्वामेट र अर्गानोफस्फेट कीटनाशक विषादीको मात्र परीक्षण गर्ने गरिएको छ । 

पछिल्लो समय वीरेन्द्रनगरमा भित्रिने तरकारीमा भएको विषादी परीक्षणलाई तीव्रता दिइएको छ । वीरेन्द्रनगरमा व्यवसायीले भित्र्याइरहेको तरकारीमा अत्यधिक विषादी देखिन थालेपछि परीक्षणको दायरा बढाइएको हो । कृषि थोक बजारमा स्थापना भएको केन्द्रीय कृषि प्रयोगशाला अन्तर्गतको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइले हालसम्म गरेको नमुना परीक्षणमध्ये नौ प्रकारका तरकारीमा अत्यधिक विषादी प्रयोग भएको पाइएको छ । 

२०८१ कात्तिकमा स्थापना भएको एकाइले हालसम्म एक हजार ५०४ वटा नमुना परीक्षण गरिसकेको छ । अहिले परीक्षणलाई तीव्र पारिएको द्रुत विश्लेषण प्रयोगशाला एकाइका प्रमुख धनसिंह धामीले बताए । जसमध्ये विषादी देखिएर नष्ट गर्नुपर्ने १२ प्रकारका रहेका छन् । उनका अनुसार यीमध्ये नौ वटा नमुना केही समय तरकारी क्वारेन्टाइनमा राखेर पुनः प्रयोग गर्न सकिने सिफारिस गरिएको छ । वीरेन्द्रनगरमा भित्रिएको भारत र नेपालका विभिन्न ठाउँबाट ल्याइएका तरकारीको नियमित रूपमा परीक्षणलाई व्यापकता दिने गरी काम अघि बढाइएको छ । 

कुनै पनि तरकारीमा ३५ प्रतिशतभन्दा कम विषादी भेटिएमा उपभोग गर्न मिल्ने र ३५ देखि ४५ प्रतिशत विषादी भेटिएमा केही दिन तरकारी क्वारेन्टाइनमा राखेर पुनः उपभोग गर्न मिल्ने बताइएको छ । एकाइले नष्ट गर्न सिफारिस गरेका तरकारीमा ४५ प्रतिशतभन्दा बढी नै विषादी भेटिने गरेको छ । ४५ प्रतिशतमाथि विषादी भएको पुष्टि भएमा तत्कालै नष्ट गर्नुपर्ने हुन्छ । 

रासायनिक विषादीले जनस्वास्थ्यमा गम्भीर असर पु¥याउने भएकाले यसको प्रयोग न्यूनीकरण अभियान नै थाले पनि उल्लेखनीय उपलब्धि हासिल गर्न नसकिएको जनाइएको छ । काँव्रmा, भिन्डी, बोडी, गोलभेँडा, फर्सी, धनिया, तितेकरेला, लौका सिमी र आलुको नमुना परीक्षण गर्दा बढी विषादी देखिएको छ ।

प्रतिक्रिया