नेपालगञ्ज : दोस्रो नेपालगञ्ज नेशनल स्वीमिङ च्याम्पियनशिप शुक्रबारदेखि नेपालगञ्जमा सुरु भएको छ। नेपालगञ्ज स्वीमिङ क्लबको आयोजनामा भएको उक्त प्रतियोगिताको उदघाटन लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोषकुमार पाण्डेले गरे ।
उदघाटन कार्यक्रममा मन्त्री पाण्डेले लुम्बिनी प्रदेशमा खेलकुद क्षेत्रको अपार सम्भावना रहेको बताउँदै प्रदेश सरकार खेल क्षेत्रको विकासका लागि प्रतिबद्ध रहेको उल्लेख गरे ।
क्लबका अध्यक्ष केशवराज न्यौपानेको अध्यक्षता तथा वरिष्ठ उपाध्यक्ष सूर्यमणि अधिकारीको स्वागत मन्तव्यबाट सुरु भएको उदघाटन समारोहमा लुम्बिनी प्रदेशका पूर्वमन्त्री रत्न खत्री र प्रदेशसभा सदस्य अम्बिका काफ्लेले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गरे ।
उदघाटन खेल अन्तर्गत ५० मिटर अन्डर–८ ब्याकस्ट्रोक इभेन्टमा सगरमाथा स्वीमिङ क्लब, ललितपुरका राजविन जिरेल प्रथम, आदर्श माध्यमिक विद्यालय, नेपालगन्जका युभान श्रेष्ठ दोस्रो र कोशी प्रदेशका विष्णु पराजुली तेस्रो भए।
त्यसैगरी २५ मिटर फ्रिस्टाइल अन्डर–८ बालक समूहमा सगरमाथा क्लबका राजविन जिरेल प्रथम, शिखा एकेडेमी, कोहलपुर (बाँके) का दिप्सन पुन मगर दोस्रो र आदर्श मावि, नेपालगन्जका युभान श्रेष्ठ तेस्रो भए।
२५ मिटर फ्रिस्टाइल अन्डर– ८ बालिका समूहमा सगरमाथा क्लबकी छियाना महर्जन प्रथम, आदर्श माविकी समृद्धि न्यौपाने दोस्रो र शिखा एकेडेमी, कोहलपुरकी श्रीजा रेग्मी तेस्रो भइन्।
त्यस्तै २५ मिटर ब्याकस्ट्रोक अन्डर–८ बालिका इभेन्टमा सगरमाथा क्लबकी छियाना महर्जन प्रथम, आदर्श माविकी समृद्धि न्यौपाने दोस्रो र शिखा एकेडेमीकी काफिया चलाउने तेस्रो भइन्।
विजेता खेलाडीहरूलाई मन्त्री पाण्डेले पदक तथा प्रमाणपत्र वितरण गर्नुभयो। कार्यक्रममा मन्त्री पाण्डेले पौडी प्राविधिक विष्णु खड्कालाई ह्विसल हस्तान्तरण गरी खेलको औपचारिक शुभारम्भ गर्नुभयो।
प्रतियोगितामा देशभरका अन्डर– ८, १०, १२, १४ र १७ वर्ष उमेर समूहका साथै खुला उमेर समूहका १५० भन्दा बढी खेलाडीहरूको सहभागिता रहेको क्लबले जनाएको छ।
अन्डर– ८ समूहका खेलाडीहरूले २५ मिटर दुरीमा प्रतिस्पर्धा गर्नेछन् भने अन्डर– १० र अन्य उमेर समूहका खेलाडीहरूले ५० मिटर दुरीका खेलहरूमा प्रतिस्पर्धा गर्नेछन्।
त्यस्तै अन्डर– १२ र अन्डर– १४ समूहका खेलाडीबीच ५० र १०० मिटर दुरीका विभिन्न इभेन्टहरूमा प्रतिस्पर्धा हुनेछ। खुला उमेर समूहमा भने २०० र ४०० मिटर दुरीका इभेन्टहरू हुनेछन्।
कुल ५६ इभेन्टमा प्रतिस्पर्धा हुने यस प्रतियोगिता केही दिनसम्म निरन्तर सञ्चालन हुने आयोजकले जनाएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार