नेपालगञ्ज : डिभिजन वन कार्यालय बाँकेले किसानले उत्पादन गरेका विभिन्न जडीबुटीबाट प्रशोधनपछि प्राप्त हुने उत्पादन सुरक्षित रूपमा भण्डारण गर्न आधुनिक भण्डारण केन्द्र निर्माण सुरु गरेको छ।
कार्यालयले जिल्लाको राप्तीसोनारी गाउँपालिका–२, कचनापुरस्थित जयदुर्गा सामुदायिक वन क्षेत्रमा उक्त भण्डारण केन्द्र निर्माण गर्न लागेको जनाएको छ।
डिभिजन वन कार्यालय बाँकेका वरिष्ठ डिभिजनल वन अधिकृत शङ्करप्रसाद गुप्ताले किसानले वर्षौंदेखि व्यावसायिक रूपमा विभिन्न जडीबुटी खेती गर्दै आएको उल्लेख गर्दै प्रशोधनपछि उत्पादन हुने सामग्री लामो समयसम्म सुरक्षित राख्न आवश्यक भएकाले भण्डारण केन्द्र निर्माण थालिएको बताए ।
उनका अनुसार मेन्था, क्यामोमाइल र लेमनग्रासलगायत जडीबुटीबाट उत्पादन हुने तेलको गुणस्तर संरक्षण गरी किसानलाई उचित मूल्य दिलाउने उद्देश्यले अत्याधुनिक भण्डारण केन्द्र स्थापना गर्न लागिएको हो।
उनले वातानुकूलित प्रिफ्याब्रिकेटेड इन्सुलेटेड स्यान्डविच प्यानल प्रविधि प्रयोग गरेर भण्डारण केन्द्र निर्माण गरिने जानकारी दिए । यस प्रविधिबाट जडीबुटी प्रशोधनपछि उत्पादन हुने तेललाई उपयुक्त तापक्रममा सुरक्षित रूपमा भण्डारण गर्न सकिने उनको भनाइ छ।
वरिष्ठ वन अधिकृत सुशील सुवेदीका अनुसार हाल किसानले उत्पादन गरेको तेल चर्को घाम, तापक्रमको उतारचढाव तथा चुहावटका कारण गुणस्तरमा ह्रास आउने, रासायनिक तत्त्व घट्ने तथा तौल कम हुने समस्याबाट प्रभावित हुँदै आएको छ।
यही कारण किसानले उत्पादनको उचित मूल्य नपाउने अवस्था सिर्जना भएको उल्लेख गर्दै उनले नयाँ भण्डारण केन्द्र सञ्चालनमा आएपछि यस्ता समस्या न्यूनीकरण हुने र किसानले प्रशोधित जडीबुटीजन्य उत्पादनको उचित मूल्य प्राप्त गर्न सक्ने अपेक्षा व्यक्त गरे ।
मानव–वन्यजन्तु द्वन्द्वबाट प्रभावित क्षेत्रका किसानलाई वैकल्पिक आयआर्जनका रूपमा मेन्था, लेमनग्रास र क्यामोमाइलजस्ता जडीबुटी खेती गर्न प्रोत्साहन गर्दै आइएको उहाँले बताउनुभयो। वन्यजन्तुले कम क्षति पु¥याउने यस्ता बालीले किसानको आयवृद्धिमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास लिइएको छ।
उत्पादन भएको तेलको प्रशोधन, सुरक्षित भण्डारण र प्रभावकारी बजारीकरणको अभावका कारण पछिल्ला वर्षमा धेरै किसान जडीबुटी खेतीबाट विमुख हुँदै गएको देखिएको छ। उत्पादनपछि उचित व्यवस्थापन नहुँदा लगानीअनुसार प्रतिफल प्राप्त गर्न नसकेको किसानको गुनासो रहेको छ।
यही समस्यालाई सम्बोधन गर्न १२ लाख रुपैयाँको लागतमा आधुनिक भण्डारण पूर्वाधार निर्माण थालिएको वन कार्यालयले जनाएको छ। यसबाट उत्पादनको गुणस्तर जोगिनुका साथै बजारमा प्रतिस्पर्धी मूल्य प्राप्त गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
स्थानीयवासीले यो पहल जडीबुटी खेतीको पुनरुत्थान र ग्रामीण जीविकोपार्जन सुदृढीकरणतर्फ महत्वपूर्ण कदम भएको बताएका छन्। उचित भण्डारण, प्रशोधन र बजारीकरणको सुनिश्चितता भए मानव–वन्यजन्तु द्वन्द्व प्रभावित क्षेत्रमा वैकल्पिक बालीका रूपमा जडीबुटी खेती थप विस्तार हुने विश्वास गरिएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार