Listen LIVE

बाँकेमा गहुँबाली भित्र्याउने चटारो

नेपालगञ्ज : बाँकेका किसानहरूलाई यतिबेला गहुँबाली भित्र्याउने चटारो छ । खेतबारीमा किसानहरू गहुँ काट्ने र थ्रेसरमार्फत दाना छुट्याउने काममा व्यस्त देखिन्छन् ।

नेपालगञ्ज उपमहानगरपालिका–२२ पुरैनीका स्थानीय कृषक राजकुमार पासीले गहुँ काटेर थ्रेसरसमेत लगाइसकेका छन् । केही दिनअघिको वर्षाले गहुँ स्याहार्न ढिलाइ भएको उल्लेख गर्दै उनले भने, 'अस्तिको पानीले गहुँ काट्न ढिलाइ भयो । केही दिनदेखि मौसम फेरबदल भइरहेको छ, कहिले बादल लाग्छ त कहिले हावाहुरीसँगै पानी पर्ने जस्तो हुन्छ । त्यसैले गहुँबाली छिटो भित्र्याउनुपर्ने छ ।'

राजकुमारले श्रीराम कम्पनीको गहुँखेती गर्नुभएको छ । यो जातको बीउ उहाँले रुपैडिहाबाट ल्याउनुभएको हो । उनले भने, 'यो जात राम्रो फल्छ । यहाँ अरूले विजय गहुँ पनि लगाउँछन्, त्यो पनि राम्रो फल्छ भन्छन् । त्यो सबै पारीकै जात हो ।'

अर्का कृषक शोभाराम यादवले लगाएको गोलो दाना भएको कुन्दन जातको बीउ पनि रुपईडिहाबाटै ल्याइएको हो । उनले ६ विगाहा जमिनमा गहुँखेती गर्दै आएका छन् । उनले पनि गहुँ काट्न शुरु गरिसकेका छन् भने दाइँ र भित्र्याउने काम बाँकी छ ।

कृषि ज्ञान केन्द्र बाँकेले यस वर्ष उत्पादन राम्रो हुने अपेक्षा गरेको छ । यद्यपि प्राकृतिक प्रकोपको जोखिम अझै रहेको जनाएको छ । केन्द्रले किसानलाई आधुनिक उपकरणको प्रयोग गरी छिटो र सुरक्षितरूपमा बाली भित्र्याउन आग्रह गरेको छ ।

कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख तथा कृषि–अर्थ विज्ञ डा. विनोद घिमिरेका अनुसार यस वर्ष मौसम अनुकूल रहेकाले गहुँ उत्पादन बढ्ने अनुमान गरिएको छ । उनले भने, 'हाल हामी उत्पादनको तथ्यांक संकलन गरिरहेका छौँ '

बाँकेमा यस वर्ष करिब २१ हजार पाँच सय हेक्टर क्षेत्रफलमा गहुँखेती गरिएको छ ।

बदलिँदो समयसँगै कृषिक्षेत्रमा प्रविधिको प्रयोग बढेसँगै काम गर्न सहज भएको किसानहरू बताउँछन् । आधुनिक उपकरणको प्रयोगले गहुँ दाइँ र भित्र्याउने काम पहिलेभन्दा छिटो र सजिलो भएको छ ।

थ्रेसर प्रविधि आउनुअघि ११ कठ्ठामा लगाइएको गहुँ दाउन ३–४ दिन लाग्ने गरेको कृषक राजकुमार पासी बताउँछन् । तर अहिले थ्रेसर प्रयोग गर्दा २०–२५ मिनेटमै दाइँ सम्पन्न हुने उनको अनुभव छ । उनले भने, 'पहिले ३–४ दिन लाग्ने काम अहिले एक घण्टाभित्र सकिन्छ। पहिले खलियानमा गोरु र राँगाले दाइँ गर्नुपथ्र्यो ।'

शोभाराम यादवका अनुसार पहिले गहुँ स्याहार्न धेरै समय र श्रम लाग्थ्यो । उनले भने, 'चैतको अन्तिममा काटेको गहुँ असारसम्म दाइँ गरिन्थ्यो, अहिले ३–४ घण्टामै सकिन्छ ।'

विगतमा परम्परागत तरिकाले गरिने खेतीमा धेरै मेहनत, समय र श्रम लाग्ने गथ्र्यो। तर पछिल्ला वर्षमा कृषि प्रविधिको विकासले ठूलो परिवर्तन ल्याएको छ । ट्याक्टर, थ्रेसर र कटाइ मेसिनजस्ता उपकरणले थोरै समयमा धेरै काम गर्न सम्भव भएको छ ।

प्रतिक्रिया