कैलाली : जैविक विविधताले महत्वपूर्ण तथा पर्यटकीय क्षेत्र घोडाघोडी तालको पर्यटक प्रवेश शुल्कबाट बार्षिक आठलाख १६ हजार ६२२ रुपैयाँ उठेको छ ।
घोडाघोडी क्षेत्र संरक्षण तथा जनजागरण मञ्च नेपालको १५ औ चुनावी साधरणसभा तथा सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रस्तुत आर्थिक प्रतिवेदनमा आर्थिक बर्ष २०८०–८१ मा सो रकम उठेको उल्लेख गरिएको छ ।
प्रतिवेदन २०७९–८० मा प्रवेश शुल्कबाट पाँच लाख ५० हजार ४५० रुपैयाँ आम्दानी भएको उल्लेख छ । घोडाघोडीका नगरप्रमुख खडकबहादुर रावतले मञ्च घोडाघोडीको पुरानो संस्था रहेकाले घोडाघोडी ताललाई अन्तर्राष्ट्रियरुपमा चिनाउन उल्लेख्य भूमिका रहेको बताए ।
कोषाध्यक्ष गंगादेवी सुनारले आर्थिक बर्ष २०८०–८१ को १५ लाख ४७ हजार २०८ रुपैयाँको आयव्यय प्रस्तुत गरिन् । मञ्चका सचिव हरिलाल सापकोटाले घोडाघोडी तालको संरक्षणका लागि २०५६ सालमा स्थापना भएको संस्थाको मुख्य उद्देश्य वातावरण संरक्षण रहेकाले सोहीअनुरुप कार्यक्रम सञ्चालन हुँदै आएको बताए ।
उनले घोडाघोडीको आम्दानीलाई संरक्षणकै लागि खर्च गरिएको र अन्य निकायको सहयोगमा कार्यक्रम गर्दैआएको उल्लेख गर । सचिव सापकोटाले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै समितिको ११ वटा बैठक बस्दै १९ वटा सामुदायिक वनसँग अन्तरक्रिया, १७ वटा सामुदायिक विद्यालयमा इको क्लव गठनका साथै सोही विद्यालया चित्रकला तथा वक्तृत्वकला प्रतियोगिता सञ्चालन गरेको बताए ।
उनले डिभिजन वन तथा स्थानीय सरकारसँग समन्वय र सहकार्यमा कार्यक्रम सञ्चालन हुँदै आएको जनाए ।
मञ्चका अध्यक्ष हेमबहादुर बमले घोडाघोडी ताललाई विश्व रामसार साइडमा सूचीकृत गराउन संस्थाले भूमिका खेलेको बताए । उनले भने, “मञ्चको पहलमा सन् २००३ अगष्ट १३ मा घोडाघोडी ताललाई रामसारमा सूचीकृत गरिएको हो ।”
साविकको दरख, साँडेपानी र रामशिखरझाला हालको घोडाघोडी नगरपालिका वडा १, ३, ४ र ८ सिमासँग जोडिएको जैविकमार्ग, सिमसार क्षेत्रको संरक्षणमा निरन्तर संस्थाले कामगर्दै अगाडि बढेको छ ।
घोडाघोडी ताल क्षेत्रमा रहेका ४५० प्रजातिका वनस्पती, ३१ प्रजातीका माछा, ३८२ प्रजातीका चरा, ३२ प्रजातीका पुतली, ११ प्रजातीका घोङ्घी, ७ प्रजातीका घस्रने जन्तुको संरक्षणसँगै पर्यटन विकासमा मञ्चले विभिन्न कार्यक्रम सञ्चालन गर्दैआएको अध्यक्ष बमले जनाए ।
मञ्चको चुनावी सभाबाट नयाँ नेतृत्व चयन हुने भएको छ । ८६ जना साधारण सदस्य रहेको मञ्चमा १३ सदस्यीय नयाँ कार्यसमिति बन्ने जनाइएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार