जानकी (बाँके) : युट्युबमा लटरम्म फलेको र बजारमा महँगो दाम पाइरहेको देखेपछि उत्साहित बनेर ‘ड्रागन फ्रुट’को खेती गरेका जानकी गाउँपालिका–४ नहरपुर्वाका कमलबहादुर राना ड्रागन फ्रुटले उचित बजार पाउँदा खुशी भएका छन् ।
वैदेशिक रोजगारीका लागि दुबइको भिसा समेत लगाएर बसेका राना एक दिन युट्युबमा आएको भिडियो मोबाइलमा हेरिरहेका थिए । भिडियो हेरिसकेपछि रानाले विदेश जाने भिसा रद्द गरेर तत्कालै ड्रागन खेती शुरु गर्ने निधो गरे ।
रानाले भने, ‘शुरुमा खेती गर्दा गाउँलेले ‘यो सिउँडी जस्तो के खेती गरेको ?’ भनेर आलोचना पनि गरे । पहिलो उत्पादन गाउँलेलाई चखाएपछि उहाँहरूले पनि खेतीप्रति चासो देखाउन थाल्नुभयो ।’, उनले भने, ‘विदेश जानुभन्दा स्वदेशमै केही गरौँ भन्ने भावना पहिलेदेखि नै थियो । युट्युबमा हेरेको एउटा भिडियोले मेरो जिन्दगीमा नयाँ आयाम थपिदियो ।’
रानाले १० कट्ठा जमिनमा पाँच सय बोट ड्रागन फ्रुटका बिरुवा लगाएका छन् । रानाले ड्रागन खेती थालेको तीन वर्ष पुगेको बताउँदै भने, ‘यो अवधिमा करिब २० लाख रुपैयाँ खर्च भए पनि दुई वर्षमै लगानी उठिसकेको छ । अहिलेसम्म तीनपटक ड्रागन टिपेर बिक्री गरियो । प्रतिकिलो चार सय रुपैयाँका दरले हालसम्म २५ क्विन्टल बिक्री गरिसकेको छु ।” रानाले भने, ‘लगानी उठिसक्यो, अब कमाइखाने बेला भएको छ ।’
रानाले बारीमा ६ जनालाई रोजगारी दिएका छन् । अन्यत्रभन्दा बढी ज्याला समेत दिएको उनको भनाइ छ । बिचौलियाका कारण उपभोक्ता मारमा परेको बताउँदै उनले व्यापारीलाई भन्दा सर्वसाधारणलाई प्राथमिकता दिएर ड्रागन फ्रुट बिक्री गरिरहेको जिकिर गरे ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार