राप्तीसोनारी (बाँके) : हिजोदेखि परेको वर्षाका कारण बाँकेको राप्तीसोनारी गाउँपालिकामा धानबालीमा क्षति पुर्याएको छ । यसअघि हावाहुरीले ढालेको धान काटेर भित्राउनेमा बेलामा वर्षातले क्षति पुर्याएपछि किसान चिन्तित बनेका छन् ।
काटेर भित्राउने बेलाको बाली कहिले हावहुरीले कहिले वर्षाले क्षति गराइरहेको राप्तीसोनारी–३ की बजारी थारुले बताइन् । “पानीले भिजेर धान खेतमा जमरा झैँ उम्रेको छ, अझै पानी आयो भने वर्षभरि खाने अन्न नष्ट हुन्छ”, उनले भनिन् ।
करिब ६ कट्ठा जमिनमा लगाएको महेन्द्र ६ सय ६ जातको धान भिजेको बताउँदै थारुले अहिले घाम देखिन थालेकामा खुशी व्यक्त गरिन् । यस बाहेक गाउँका करिब ११ परिवारको धानबालीमा हिजोदेखिको वर्षाले क्षति पुर्याएको उनले जानकारी दिइन् ।
राप्तीसोनारीका किसान रणबहादुर थारुले आफ्नो सबै धानबालीमा वर्षाले क्षति पुगेको बताए । काटेर राखेको करिब १० कट्ठामा लगाएको बाली पानीले भिजाएको उल्लेख गर्दै उनले धान उम्रिने अवस्थामा पुगेको बताए ।
“मौसम सफा भए बाली भित्र्याउन सकिने भन्दै उनले घाम नलागे सबै धान जमिनमै नष्ट हुने भनेर चिन्ता व्यक्त गरे । वर्षभरि खाने अन्न नष्ट भए के खाने ?”, उनले प्रश्न गरे ।
स्थानीय पत्रकार विमला चौधरीले करिब २ घण्टा परेको वर्षाले किसानको धानबालीमा क्षति पुर्याएको उल्लेख गर्दै भिजेको धान सबै उम्रन थालेको उल्लेख गरिन् । राप्तीसोनारी–४ का वडाध्यक्ष मिनराज खड्काले वर्षाका कारण काटेर राखिएका र ढलेका धानमा केही क्षति पुगेको बताए ।
वडाध्यक्ष खड्काले वडा कार्यालयबाट क्षतिको विवरण सङ्कलन गर्न लागिएको बताए । उनका अनुसार राप्तीसोनारी–३ र ४ का करिब ११ परिवारका किसानको धानबालीमा क्षति भएको प्रारम्भिक तथ्याङ्क प्राप्त भएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार