Listen LIVE

बर्दिया निकुञ्जमा पर्यटक बढे, राजश्व संकलनमा बृद्धि

बर्दिया : जेन–जी आन्दोलनपछि बर्दिया राष्ट्रिय निकुञ्जमा स्वदेशी र विदेशी पर्यटक आगमन अपेक्षाकृत निकै कम भयो । दशैं र तिहारपछि यहाँ पर्यटक संख्या बढेको थियो । नयाँ वर्षका अवसरमा हिजोआज पर्यटकको आगमन बढ्ने क्रममा छ ।

गत साउनदेखि चैत २९ सम्म १९ हजार १ सय १५ स्वदेशी र विदेशी पर्यटक भित्रिएको निकुञ्जको अभिलेख छ । तीमध्ये १३ हजार ४७ नेपाली, सार्क मुलुकबाट ८सय १९ र विदेशी ५ हजार २ सय ४९ पर्यटकले निकुञ्जको अवलोकन गरेको सूचना अधिकारी सरोजमणि पौडेलले बताए ।

पर्यटक भित्रिएपछि राजस्वमा समेत वृद्धि भएको छ । यस अवधिमा ३ करोड ५४ लाख ५ हजार ८ सय ९८ रुपैयाँ राजस्व असुली भएको पौडेलले बताए ।

निकुञ्ज प्रवेश गर्न आउने आन्तरिक पर्यटकले १ सय, सार्क मुलुककाले ७ सय ५० र विदेशी पर्यटकले १ हजार ५ सय शुल्क तिर्नुपर्छ । विश्वमै पाटेबाघका लागि ख्याति कमाएको बर्दिया राष्ट्रिय निकुञ्जमा केही वर्षयता आन्तरिक, सार्क र विदेशी पर्यटकको संख्या बढ्दै गएको सूचना अधिकारी पौडेल बताउँछन् । 

निकुञ्जमा ०८१–८२ मा २८ हजार ६८ स्वदेशी तथा विदेशी पर्यटकले अवलोकन गरेका थिए । गत आवमा नेपाली १९ हजार १०, सार्कका १ हजार ५ सय ४० र विदेशी ७ हजार ५ सय १८ जना पर्यटक भित्रिएका बर्दिया निकुञ्जले जनाएको छ ।

Úनिकुञ्ज प्राकृतिक रुपमा निकै मनमोहक छ । बबई उपत्यकाको रमणीय स्थल, शान्त क्षेत्र र प्रमुख आर्कषक बाघ भएका कारण यहाँ टाढाबाट पर्यटक आउने गरेका छन्,Ú पर्यटन व्यवसायी रामजी थापाले भने ।

निकुञ्जबाहेक पर्यटकले खाता जैविक मार्गको डल्ला, पत्थरबोझी लगायतका ठाउँको अवलोकन गर्ने गरेका छन् । निकुञ्ज हातामा रहेको गोही, घडीयाल प्रजनन केन्द्र, थारु संग्राहलय, दृटिविहीन गैंडा र समस्याग्रस्त बाघ थुनिएको खोर अवलोकन गर्न पनि पर्यटक इच्छुक रहने गरेको निकुञ्जले बताएको छ ।

नयाँ वर्ष ०८३ को पहिलो दिन आन्तरिक पर्यटकले होटल बुक गर्न थालेको पर्यटन व्यवसायी बताउँछन् । पर्यटन व्यवसायी कृष्णप्रसाद भट्टराईले पर्यटक आगमन सन्तोषजनक रहेको बताए । Úपुरानो वर्षलाई बिदाइ गर्न सोमबार बेलुकादेखि आन्तरिक पर्यटक आउन थाल्छन्,Ú उनले भने ।

प्रतिक्रिया