कपिलवस्तु : मिठो बास्ना र स्वादिलो चामलका रूपमा लिइने कालानामक धान लोप हुने अवस्थामा पुगेको छ । नेपालको तराईका केही जिल्लामा मात्र पाइने छुट्टै पहिचान बोकेको यस धानको खेती नगण्य हुँदा कालानमकको उत्पादनमा निकै नै कमी आएको छ ।
स्थानीय जातको बहुमूल्य चामल मानिने कालानमकको मूल्य बजारमा अन्य चामलभन्दा दोब्बर महँगो छ । जमिनदारको प्रमुख रोजाइ तथा पाहुनाको स्वागतको राम्रो परिकारका रूपमा लिइने भएकाले बजारमा यसको माग अत्यधिक छ तर कम उत्पादन, रोग तथा किराको प्रकोप तथा ढिलो तयार हुने हुँदा यसको खेती कमैले गर्ने गरेका छन् ।
कपिलवस्तु नगरपालिका–११ का कृषक राधेश्याम बरईले भने, “पहिला पहिला हामीले आठदेखि १० बिघामा कालानमक धान लगाउने गथ्र्यौं तर उत्पादनमा कमी हुने कारणले कालानमक धान लगाउन छाडेका छौँ ।”
कृषक रामरतन यादवले खाँदा अति स्वादिष्ट तथा बास्नाले भरिपूर्ण भएको कालानमक धानलाई लोप हुनबाट बचाउन विशेष चासो लिनुपर्ने बताए । यसको संरक्षणका लागि कृषि ज्ञान केन्द्र, स्थानीय, प्रदेश, केन्द्र सरकारले किसानका लागि केही नगरेको उनको गुनासो छ ।
सीताराम गल्ला भण्डारका सञ्चालक सीताराम कोहारले कालानमक धान कम उत्पादन हुने तथा रोग किरा बढी लाग्ने गर्छ । हाल यसको बजार मूल्य प्रतिकिलो १२० देखि १५० रुपैयाँमा रहेको उनले बताए । उनले अहिले कपिलवस्तुमा कमै मात्रामा यसको खेती गरिएकाले कृषकहरू बेच्नका लागि कमै मात्रामा आउने गरेको बताए ।
सिँचाइको व्यवस्था भएको खेतमा मात्र लाउन सकिने, धान फल्न बढी समय लाग्ने, कम उत्पादन हुनेलगायतका समस्याले गर्दा अहिले कृषकले यो धान लाउन छाडेका छन् ।
केन्द्रका प्रमुख घनश्याम चौधरीले कालानमक धानको प्रवर्धनका लागि कृषि ज्ञान केन्द्रले मसिना तथा बास्नादार धानको प्रवर्धनको कार्यक्रम सञ्चालन गरेको बताए । उनले चालु आर्थिक वर्ष २०८२–८३ मा रैथाने धान प्रवर्धनका कार्यक्रम राखिएको बताए ।
जिल्लाको कपिलवस्तु, बुद्धभूमि नगरपालिका, मायादेवी र यशोधरा गाउँपालिकामा कालानमक धान लगाइएको छ । कपिलवस्तुमा कुल ८३ हजार हेक्टर खेतीयोग्य जमिनमध्ये ७२ हजार हेक्टरमा धान खेती भइरहेको छ । कृषि ज्ञान केन्द्रले जिल्लामा यस वर्ष ७४ हेक्टरमा कालानमक धान लगाइएको जनाएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार