Listen LIVE

कृषिमा जमेका गुल्मीका ईन्द्र दम्पती

गुल्मी : गुल्मीको सत्यवति गाउँपालिका –३ ठुलोलुम्पेक बोरहका ईन्द्र विश्वकर्मा र प्रेमकला गाहाका कृषिमोह निकै लोभलाग्दो छ । अहिलेकै एक सिजनमा सय क्विन्टल बढी तरकारी बिक्री गरिसके । 

बारीमा अहिले आठ हजार बोट गोभी छन् । असोज महिनाभर झरी नपरे राम्रो कमाइको आशा दम्पतीमा छ । फूलगोभी करिब तीन हजार बोट छन् । चार चरणमा गोभी निकाल्ने गरेर बारीमा रोपिएको छ । अहिले करिव ५० क्विन्टल गोभी निस्कन्छ भन्ने आफूहरुको आशा रहेको ईन्द्रले बताए । 

ईन्द्र कामकै लागि मलेसिया र भारत पुगे । २०७२ सालमा घर फर्किएर तीन बर्ष गाउँमै सानोतिनो काम गरेर सोचेअनुसारको कमाइ भएन । पछिल्ला डेढ दशक कृषिमा उनको बित्यो । तर, पूर्णिमा अर्गानिक कृषि तथा पशुपंक्षी फर्ममार्फत पाँच बर्षदेखि व्यावसायिक कृषि गरिरहेका छन् । विश्वकर्माले अहिले क्याप्सिकम, सीमी र काँक्रासहित कुखुरापालन व्यवसाय गरिरहेका छन् ।

अहिले क्याप्सिकम पहिलो अनुभव हो । ईन्द्रको बारीमा सिमी पनि राम्रो फलेको छ । सिमीकै मौषम भएकाले मूल्य सोँचेअनुसार भएन् । करिब १५ क्विन्टल सिमी र क्याप्सिकम बिक्री भएको उनको भनाइ छ । धेरै पहिलेबाट गरिरहेको टमाटर खेती गरिरहेका विश्वकर्माकोले अहिले मात्र करिव ७० क्विन्टल टमाटर बिक्री भएको दाबी गरे । 

विश्वकर्माकोमा भक्तपुरे जातको काँक्राका पनि साढे दुईसय बोट छन् । टमाटर, सिमी, क्याप्सिकम र काँक्रा गरेर एक टनभन्दा बढी बिक्री गरेको कृषक ईन्द्र विश्वकर्माले जानकारी दिए । 

२०७९ सालमा असिनाले ध्वस्त बनाएपछि कृषि कर्मबाट हातधुने स्थिति समेत भोगेका इन्द्रले पाँच लाख खर्च गरेर हेल्दीनेट प्रयोग गरेर कृषि गरिरहेका छन् । हेल्दीनेट महङ्गो हुने भएकाले सबै कृषकको पहुँचमा छैन । 

ईन्द्र दम्पतीले कृषिबाहेक आठसय बढी कुखुरा, १० बाख्रासहित बंगुरपालन गरेको छ । प्रेमकला गाहा सत्यवति गाउँपालिका –३ को वडासदस्य हुन् । उनले वडाको कामसहित श्रीमानसँगै कृषि कर्ममा जोडिएकी छन् । 

गाउँभर कृषि क्षेत्रमा उर्जा छ । अरुलाई कृषिमा लाग्न उत्प्रेरित गर्न आफूबाट सुरु गर्नुपर्ने गाहाको तर्क छ । सत्यवति गाउँपालिकाले कृषकका सबै उत्पादन वुटवलको २८ नम्बर सटरमा बिक्री गर्ने प्रबन्ध गरिरहेको छ । 

सबै उत्पादन अहिलेसम्म बुटवलमै बिक्री भइरहेको गाहाले बताइन् । उनले खर्च कटाएर परदेशमा बराबर कमाई घरमै भइरहको बताइन् । कृषि ज्ञान केन्द्रबाट थोपा सिँचाइ प्रविधि, पालिका तथा वडाबाट गत बर्ष टनेल सहयोग भएको थियो । उनले बर्षातमा पानी परे सडक समस्या हुने भएकाले राज्यले सडक सञ्चालनमा सहयोग गर्नुपर्ने आग्रह गरिन् । 

जातीय विभेदले जगडिएको समाजमा अन्तरजातिय बिहे नै एउटा क्रान्ति भएको स्थानीयको बुझाइ छ । यो जोडीले बिहेसंगै कृषिमा समेत क्रान्ति गरेको स्थानीय बताउँछन् ।

प्रतिक्रिया