Listen LIVE

मानसरोवर यात्रुका कारण सिमकोट व्यस्त

हुम्ला : पर्यटकीय सिजन शुरु भएसँगै हिमाली जिल्ला हुम्लाको सिमकोट विमानस्थल पर्यटकहरूले भरिभराउ हुन थालेको छ । यस वर्ष मानसरोवर–कैलाश दर्शन गर्ने कार्य शुरु भएसँगै भारतीय धार्मिक पर्यटकहरू हवाई मार्ग हुँदै आउन थालेपछि विमानस्थल निकै व्यस्त हुन थालेको हो । मानसरोवर–कैलाश दर्शनको सिजन सुरु भएसँगै भारतीय पर्यटकहरूको आगमन उल्लेख्य रूपमा बढेको कारण सिमकोट विमानस्थल बिहानदेखि बेलुकासम्म चहलपहलयुक्त बनेको प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले बताए ।

उनका अनुसार बिहान ६ः३० बजेदेखि सिमकोटबाट हिल्सा ओसार्ने हेलिकोप्टरहरूले उडान सुरु गर्ने गरेका छन् भने नेपालगञ्जबाट सिमकोटका लागि हवाई जहाजहरूले बिहान ७ बजेदेखि पर्यटक ल्याउने कार्य दैनिक रूपमा भइरहेको छ ।

हालसम्म एक हजार पाँच सयभन्दा बढी पर्यटक सिमकोट आइपुगेको र उनीहरू हिल्सा हुँदै मानसरोवर–कैलाशतर्फ प्रस्थान गरेको जनाइएको छ ।

पाँच वटा जहाजले दैनिक १० देखि १२ वटा उडानमार्फत नेपालगञ्जबाट पर्यटक ओसारपसार गर्दै आएका छन् भने ६ वटा हेलिकोप्टरले सिमकोटबाट हिल्साका लागि नियमित उडान गर्दै आएको सिमकोट विमानस्थल प्रमुख महेन्द्रबहादुर सिंहले बताए । कहिलेकाहीँ सिमकोट विमानस्थलमा हवाई ट्राफिक जामको अवस्थासमेत सिर्जना हुने गरेको उनले जानकारी दिए ।

प्रतिक्रिया