Listen LIVE

वर्षाले बारीमै नष्ट हुँदैछ कृषकको काँक्रा

रेसुङ्गा : वैशाख र जेठ महिनामा परेको पानीले छत्रकोट गाउँपालिका –५ खज्र्याङ्गका ४० बर्षीय बिष्णुप्रसाद भण्डारीको बारीमा लगाएका काँक्रा नष्ट हुने अवस्थामा छ । 

भण्डारीले पूर्णिमा कृषि तथा पशुपंक्षी फर्ममार्फत २८ रोपनी जग्गामा व्यावसायिक बे–मौसमी काँक्रा खेती गरेका छन् । गत मंसिरमा रोपेर चैतबाट काँक्रा बिक्री थालेका भण्डारीलाई वैशाख र जेठको बर्षाले क्षति गरेको हो । 

करिव २८ रोपनी जग्गामा टनेल बाहिर उत्पादन गरेका काँक्रा कुहिएर नष्ट भएको छ । उनले आफूले धेरै क्षेत्रफल जग्गामा काँक्रा उत्पादन गरेकाले टनेल किनेर राख्न सक्ने अवस्था नभएका कारण क्षति व्यहोर्नुपरेको बताए । भण्डारीले चैत र वैशाख दोस्रो सातामै धेरै परिमाणमा काँक्रा बिक्री गरिसकेकाले ठुलो समस्या नभए पनि टनेलमै राख्न पाएको भए पाँच–सात लाखको काँक्रा बिक्री गर्न सकिने अवस्था हुने बताए । 

अब बजारमा मूल्य पनि नहुने र अधिकांश बिग्रन थालेकाले उपाय केही नभएर छाडेको भण्डारीले बताए । उनले भने, “२८ रोपनीमा टनेल लगाउने हैसियत थिएन, जोखिम मोलेरै काँक्रा फलाएका कारण चैतमै बजारमा काँक्रा दिएँ । धेरै उत्पादन गर्ने भएकाले ठुलो घाटा खानु परेन् ।” 

भण्डारीको फर्ममा कोरियन, जापानिज, भारतीय र भक्तपुरेलगायत सात प्रकारका काँक्रा छन् । खुल्ला आकाशमा रोपिएका काँक्रा बजारसम्म पुगेका छैनन् । उनले वडाबाट १२ किसानले हाते ट्याक्टर पाउँदा आफुले नपाएको दुःखेसो पोखे । 

आफूलाई तत्काल टनेल आवश्यक भए पनि हाते ट्याक्टर मागेर नपाएपछि स्थानीय सरकारसँगै गुहार अब नमाग्ने भण्डारीले बताए । छत्रकोट गाउँपालिकाका कृषि अधिकृत प्रदिप पन्थले ठूला किसानलाई दिने आफूहरुसँग बजेट नभएको बताए । 

गाउँपालिकाले कृषक पेन्सन सञ्चालन गरेको थियो । करिव ३० लाख रुपैयाँको काँक्रा बिक्री भएको दावी अगुवा कृषक बिष्णु भण्डारीको छ । बिहान सवेरै उठेदेखि रात नपरेसम्म कृषि कर्ममै दिन बिताउने भण्डारीको तरकारीको गोडमेल र मलजल तथा टिप्ने, प्याकिङ्ग गर्ने दैनिकी बनेको छ । 

सुरुमा कुखरा पालनसंगै मासु व्यावसाय गरेका भण्डारी अहिले काँक्रा उत्पादकको रुपमा परिचित छन् । उनले गत बर्ष सात लाख रुपैयाँको काँक्रा बिक्री गरेका थिए । पूर्णिमा कृषि फर्ममार्फत करिव ५० लाख रुपैयाँ कृषि र कुखुरा पालनमा भण्डारीले लगानी गरेका छन् ।

प्रतिक्रिया