Listen LIVE

कृषकको उत्पादन गाउँपालिकाद्वारा बजारीकरण

तम्घास : यहाँको एक गाउँपालिकाले कृषकले उत्पादन गरेको कृषि उपजलाई बजारीकरणको व्यवस्था गरेको छ । रुरुक्षेत्र गाउँपालिकाले कृषकले उत्पादन गरेका कृषि उपजलाई सहज रुपमा बजारसम्म लैजाने र बिचमा हुने बिचौलीयाको चलखेललाई अन्त्य गर्नका लागि बजारीकरणको सुरुवात गरिएको जनाएको छ ।

कृषकले उत्पादन गरेको ताजा तरकारीलाई प्रत्येक हप्ताको मङ्गलबार कृषकसँग खरिद गरी सङ्कलन गर्ने र बजारीकरणका लागि पाल्पा पठाउने गरेको प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए ।

कृषकको उत्पादनलाई सहज रुपमा बजारीकरण गर्न सकेमा मात्र उहाँहरु आत्मनिर्भर बन्नुका साथै जीवनस्तरमा सुधार र उत्पादनमा पनि वृद्धि गर्न सक्ने भएकाले बजारीकरणको सुरुवात गरिएको उनको भनाइ छ ।

कृषकलाई व्यवसायीक रुपमा कृषि र पशुपालनमार्फत आत्म निर्भर बनाउन सक्ने भएकाले पालिकाले पहिलो प्राथमिकता दिएको पाण्डेले बताए । युवाहरुलाई स्वदेशमानै टिकाइ राख्न र व्यवसायीक बनाउनका लागि पालिकाले योजना बनाएर अगाडि बढेको पाण्डेले बताए ।

रुरुक्षेत्र गाउँपालिका चार रानीवासका कृषक थान प्रसाद श्रेष्ठ र वडा नम्बर ६ रिमुवाकी मीना पौडेलले आफूहरुले उत्पादन गरेका कृषि उपजले सहज रुपमा उचित मूल्य र बजार पाउँदा थप उत्साह थपेको बताइन् । यस्तै, कार्यहरुहरु निरन्तरता दिन उनीहरुले पालिकालाई आग्रहसमेत गरे । उनीहरुले आफूहरुले उत्पादनलाई बढाउँदै लैजाने र आर्थिक रुपमासमेत सम्पन्न हुने गरी अगाडि बढ्ने बताए ।

गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक साथै प्राविधिक सहयोगमा नवप्रभात युवा संघद्वारा सञ्चालित रुरु कृषि परियोजना अन्तर्गत तरकारीको बजारीकरण सुरु गरिएको हो 

कृषकको उत्पादनलाई सङ्कलन गरी पाल्पामा रहेको मिलनसार सामाजिक उद्यमी महिला सहकारीद्वारा सञ्चालित तरकारी थोक बजारमा पठाउने गरिएको परियोजनाका संयोजक प्रकाश चालिसेले जानकारी दिए । ताजा तरकारीकासाथै परियोजनाले बाख्रा, कुखुरा र दुधलगायतका क्षेत्रमा काम गरिरहेको उनले बताए । पालिका भित्र ५८ वटा समूहहरु गठन गरी ताजा तरकारी, दुध र बाख्रा पालनमा आवद्ध गराएको उनको भनाइ छ । ५८ समूहमा करिव दुई हजार जना आवद्ध रहेको पालिकाले जनाएको छ ।

प्रतिक्रिया