काठमाण्डौ : इजरायलले गाजा सहरलाई ध्वस्त पार्ने अभियानलाई थप तीव्रता दिएको छ।
हमासविरुद्धको कारबाही भनिरहेको इजरायलले पछिल्लोपटक गाजाका ठूला भवनलाई जगबाटै ध्वस्त पार्ने अभियानलाई तीव्र पारेको हो। केही समयभित्रै इजरायली आक्रमणमा गाजाका ५० भन्दा बढी भवन भग्नावशेषमा परिणत भएको प्यालेस्टाइनी अधिकारीहरुले जनाएका छन्।
हिजो इजरायली सेनाले गाजाको अल–रुया टावरमा आक्रमण गरेको छ। यस भवनमा २४ वटा अपार्टमेन्ट, कयौँ डिपार्टमेन्टल स्टोर, क्लिनिक र जिम सञ्चालनमा थिए।
त्यही समयमा भएका विभिन्न आक्रमणमा ६५ जना मारिएका छन् । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले आतंकवादी पूर्वाधार र घृणित आतंकवादी गगनचुम्बी भवनहरु आफ्नो सेनाले ध्वस्त पारेको दाबी गरेका छन्।
इजरायली सेनाले शनिबार १५ तले सुसी टावर र शुक्रबार १२ तले मुश्ताह टावर लगायत कयौँ ठूलो संरचना ध्वस्त पारेको थियो। यी भवन ध्वस्त पारिँदा तीनका वरपर पाल टाँगेर बसेका विस्थापित परिवारहरु भग्नावशेषमा पुरिएका छन्।