Listen LIVE

स्ट्रोबेरी खेतीबाट मनग्य आम्दानी गर्दै प्रेम

गुल्मी : गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकामा व्यवसायीक रूपमै स्ट्रोबेरी खेती सुरु भएको छ । जिल्लामा स्ट्रोबेरीले बजार राम्रो पाउन थालेसँगै यसखेती गर्ने कृषकहरू आकर्षण बढ्न थालेको छ । 

गुल्मी जिल्लामा अन्य खेती धेरै कृषकले गरेपनि स्ट्रोबेरी खेती गर्ने कृषक कमै छन् । तर जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर–६ को सिमाघाटमा प्रेम नेपालीले व्यावसायिकरुपमा स्ट्रोबेरी खेती गर्दै आएका छन् । अघिल्लो वर्ष परीक्षणको रुपमा खेती गरेका नेपालीले बजार राम्रो पाएसँगै यस वर्षबाट व्यवसायीक रूपमै खेती गर्दै आएका हुन् । 

नेपालीले स्ट्रोबेरी खेतसँगै आरएनपी नबोदय बहुउद्देश्यीय कृषि फर्म दर्ता गरेर विभिन्न तरकारी खेती गर्दै आएका छन् । नेपालीले यसवर्ष डेढ रोपनी क्षेत्रफलमा स्ट्रोबेरी खेती गरेका छन् । नेपालीले उत्पादन गरेको स्ट्रोबेरी तम्घास बजारमा बिक्री हुँदै आएको छ । फागुन महिनाबाट पाक्न सुरु गर्ने स्ट्रोबेरी वैशाख अन्तिमसम्म पाक्ने गर्दछ । नेपालीको फर्मबाट अहिले १० किलो स्ट्रोबेरी दैनिक उत्पादन हुँदै आएको छ । स्ट्रोबेरीको बजार मूल्य हाल ५ सयदेखि ६ सयसम्म बिक्री हुने कृषक प्रेम नेपालीले बताए । 

नेपालीले ०७३ सालबाट १८ रोपनी खेत भाडामा लिएर तरकारी खेती गर्दै आएको बताए । साथै विगतको वर्षमा भन्दा यस वर्ष राम्रो उत्पादन सँगै बजार पाएको नेपालीले बताए । उनले स्ट्रोबेरी खेतीबाट दुई लाख भन्दा बढी आम्दानी गर्ने बताए । 

तरकारी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि उनले अहिले १२० रोपनी क्षेत्रफलमा विभिन्न जातका तरकारी खेती गर्दै आएका छन् । नेपालीको फर्मका हाल स्ट्रोबेरीसँगै मौसमी तथा बेमौसमी तरकारी उत्पादन हुँदै आएको छ ।

प्रतिक्रिया