बर्दिया : बर्दियाको ठाकुरबाबा नगरपालिका–९, बेतहनीमा पर्यटकीय क्षेत्रलाई लक्ष्य गरी सामूहिक कुरिलो खेती गरिएको छ । पौष्टिक तत्वले भरिपूर्ण, बहुगुणी र पर्यटकले मन पराउने हुनाले २२ घरपरिवारले सामूहिक रूपमा कुरिलो खेती गरेका हुन् ।
गत माघदेखि समूह बनाएर कुरिलो खेतीको सुरुवात गरिएको थियो । १८ कट्ठा जग्गा वार्षिक ४० हजार तिर्ने गरी भाडामा लिएर व्यावसायिक रूपमा खेती सुरु गरिएको छ ।
गत चैतमा रोपिएको कुरिलो आगामी माघदेखि व्यावसायिक रूपमा उत्पादन लिन सकिने बेतहन कृषक समूहका अध्यक्ष रामु थारूले बताए । कुरिलो एक पटक लगाएपछि धेरै वर्षसम्म तरकारी उत्पादन हुन्छ । तरकारीबाली भएकाले यसको बजार र मूल्य राम्रो रहेको छ । बर्दियामा व्यावसायिक रूपमा कुरिलो खेती गरिएको यो पहिलो हो ।
सामूहिक कुरिलो खेती गरिएको स्थान बर्दिया राष्ट्रिय निकुञ्जको मुख्यालयदेखि केही पर मात्र रहेको छ । कुरिलो खेती गर्ने स्थानको वरपर पर्यटकका लागि होटेल तथा रिसोर्ट खोलिएको छ । सो स्थानमा आवश्यक पर्ने कुरिलो देशका अन्य स्थानबाट ल्याउने गरिएको छ ।
'एक वर्षअगाडिसम्म हामीलाई कुरिलोबारे केही पनि थाहा थिएन,' अध्यक्ष थारूले भने, 'राम्रो र व्यावसायिक खेती गर्ने समूहमा छलफल भएपछि खोजी गर्दै जाँदा कुरिलो खेती लामो समयसम्म राम्रो आम्दानी हुने देखेर सुरु गरेका हौँ ।'
यस वर्ष टुसा भाँचेमा बिरुवामा असर पर्ने भएकोले टुसा नभाँचेको समूहकी सचिव रिता थारूले बताइन् । 'यो हाम्रो पहिलो वर्षको खेती हो । प्राविधिकको सल्लाह लिँदै खेती गरिरहेका छौँ,' उनले भनिन, 'बजारमा राम्रो खपत भयो र आम्दानी राम्रो भयो भने अरू जग्गा भाडामा लिएर कुरिलो खेती थप्दै जान्छौँ ।'
आफ्नै स्थानमा कुरिलो उत्पादन हुन लागेकोमा खुसी लागेको पर्यटन व्यवसायी रामजी थापाले बताए । यसअघि पर्यटकले खोजेमा देशका विभिन्न ठाउँबाट महँगो मूल्यमा कुरिलो ल्याउनुपर्ने बाध्यता रहेको बताउँदै कुरिलो उत्पादनपछि सस्तो र ताजा कुरिलो सहजै पाइने बताए । उनले भने, 'हामीले आगामी वर्षदेखि मेनुमा कुरिलोबाट बन्ने खानाका परिकार थप्छौँ ।'
समूहका २२ जना नै कमजोर आर्थिक अवस्था र कृषिबाहेक अरू पेसा नभएकाले कुरिलो खेती सफल हुने विश्वास रहेको संवर्धन परियोजनाका कृषि तथा उद्यम विकास संयोजक पप्पु यादवले बताए । उनले वातावरणलाई पनि असर नपर्ने र किसानलाई आम्दानी पनि राम्रो हुने भएकाले समूह बनाएर कुरिलो खेतीका लागि सहयोग गरेको बताए ।
संवर्धन परियोजनाले कुरिलो खेतीका लागि जग्गा भाडा, जग्गा तयारी, प्राङ्गारिक मल खरिद र बिउ खरिदका लागि आर्थिक र प्राविधिक सहयोग गरेको पैरवी अधिकृत जयन जोशीले बताए । उनले कुरिलोको बजार प्रवर्धनका लागि पनि सहयोग र समन्वय गर्ने कार्यक्रम रहेको बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार