Listen LIVE

बाँकेमा कालिजको माग बढ्दै

नेपालगञ्ज : पछिल्लो समय बाँकेमा कालिजको माग बढ्दै जाँदा कालिज पालनमा लागेका किसान उत्साहित बनेका छन् । माग पूरा गर्न उनिहरुलाई भ्याइनभ्याई छ ।

जाडोको मौसममा कालिजको माग झनै बढ्ने भएकोले उत्पादन दोब्बर वृद्धि गरेको उनीहरुको भनाइ छ । बाँकेको बैजनाथ गाउँपालिका–१, चिसापानीका तुला बुढा कालिज पालन व्यवसायमा सफल उदाहरण बनेका छन् । जङ्गलमा पाइने बोटबिरुवा, झारपात र किरा–फट्याङ्ग्रा खाएर हुर्किने कालिजलाई उनले व्यवस्थित खोरमा पाली व्यावसायिकरूपमा अगाडि बढाएका हुन् ।

करिब डेढ सय कालिज पालेर गत वर्षबाट कालिज पालनको शुरुवात गरेका बुढाको फार्ममा अहिले तीन सयभन्दा बढी कालिज छन् । उनले जाडोको मौसमलाई लक्षित गरेर कालिज उत्पादन दोब्बर गरेको बताए ।

“मागअनुसार कालिज पुर्याउन गाह्रो परेपछि यो वर्ष सङ्ख्या बढाएर तीन सय पुर्याएका हौं” बुढाले भने । उनका अनुसार उत्पादन भएका कालिज बाँके, बर्दिया, सुर्खेत र काठमाडौँसम्म पनि पठाइन्छ । “कालिज किन्न ठाउँ–ठाउँबाट मानिसहरू आउँछन्, धेरैजसोले त फोन गरेरै अर्डर गर्छन” उनले भने ।

स्वादिलो र स्वास्थ्यका हिसाबले फाइदाजनक भएकाले नेपालगञ्ज र कोहलपुर लगायत यस क्षेत्रका बजारमा कालिजको माग बढ्दो क्रममा छ । सोही कारणले व्यावसायिकरुपमा पालन गर्ने उद्देश्यका साथ करिब १० लाख रुपैयाँको लगानीमा बुढाले कालिजका लागि आधुनिक खोर बनाएका छन् ।

फलामको जालीले घेरेको खोरको माथिल्लो भागमा पनि धागोको जाली लगाइएको छ जसबाट कालिज उडेर भाग्न नपाओस् । “कालिज उड्ने पक्षी भएकाले माथि पनि जाली अनिवार्य हुन्छ” उनले बताए ।

कालिजलाई कुखुराको दानासँगै हरियो घाँस, रुखबिरुवाको पात तथा स्थानीय बोटबिरुवाका फल खुवाइन्छ । बुढाले कालिजका लागि आफ्नै बारीमा किम्बु, सरिफा, इपिल, कटहर, बकाइनो र नीमलगायतका बिरुवा रोपेका छन् । उनका अनुसार कालिजले बिरुवाको बोक्रासम्म खाइदिने भएकाले बेलाबेलामा नयाँ बोट रोप्नुपर्छ ।

अहिले भाले कालिज प्रतिवटा तीन हजार रुपैयाँ र पोथी कालिज दुई हजार ५०० रुपैयाँमा बिक्री भइरहेको बुढाको भनाइ छ । उनका अनुसार भालेको तौल बढी हुने र मासु स्वादिलो भएकाले त्यसको माग पोथीभन्दा धेरै हुने गरेको छ ।

गत वर्ष लगानीको अधिकांश रकम खोर निर्माणमा खर्च भएपनि यस वर्षदेखि नाफा हुने अपेक्षा गरिएको बुढाले बताए । उनले भने, “पहिलो वर्ष लगानी उठ्यो, अब फाइदा हुने विश्वास छ ।”

बुढाले हाल अण्डाबाट चल्ला निकाल्ने मेसिन खरिद गरेका छन् र अण्डा तथा चल्ला दुबै बिक्री गर्दै व्यवसाय विस्तारमा लागेका छन् । उनका अनुसार माग वृद्धि हुँदै गएकाले यो व्यवसायमा राम्रो भविष्य देखिएको छ ।

प्रतिक्रिया