Listen LIVE

व्यावसायिक माछा पालनबाट नाम र दाम कमाउँदै सुभाष

रुपन्देही : धेरैले विदेशमा भविष्य खोज्दा सियारी गाउँपालिका–३, रुपन्देहीका सुभाष कुर्मीले भने स्वदेशी भूमिमै समृद्धिको बाटो देखे । उनले माछा पालेरै नाम र दाम कमाउन सफल भएका छन् ।

तथापि उनीसँग न त उच्च शिक्षाको प्रमाणपत्र थियो न पर्याप्त पुँजी । आत्मबल, मेहनत र दृढ सोचका आधारमा उनी आज देशकै उत्कृष्ट कृषकको पहिचान पाएका छन् । आज असार १० गते राष्ट्रपति रामचन्द्र पौडेलबाट उनीलाई राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कारबाट पुरस्कृत गरिँदै छ । लुम्बिनी प्रदेश सरकारको सिफारिसमा सङ्घीय सरकारले उनलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।

सुभाष भन्छन, “सरकारले आफ्नो मेहनतलाई देखेर मूल्याङ्कन गरेकोमा एकदमै खुसी छु ।” उनले हरेक वर्ष देशकै उत्कृष्ट कृषक हुने गरी काम गरिरहेको बताए ।

२०६७ सालमा दुई कट्ठा क्षेत्रफलमा माछापालन सुरु गरेका सुभाषसँग अहिले १० बिघा क्षेत्रफलमा आठ वटा पोखरी छन् । उनले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मत्स्य सुपर जोन रुपन्देहीको सहयोगमा आधुनिक प्रविधिको प्रयोग गरेर आफ्नो उत्पादन क्षमता दोब्बर बनाएका छन् । उनले अक्सिजन आपूर्ति, पानी फिल्ट्रेसन र जैविक आहार जस्ता प्रविधिको प्रयोग नियमित गर्छन् । पोखरीमा कमन, सिल्भर, बिगहेड, ग्रास, रहुँ, नैनी, भाकुर जस्ता प्रजातिका माछा पालिएका छन् । 

बजार व्यवस्थापन उनी स्वयम् गर्छन् । जसले उत्पादनसँगै मार्केटिङमा पनि उदाहरणीय कार्य गरेको देखिन्छ । वार्षिक प्रतिकट्ठा चार सय किलोभन्दा बढी माछा उत्पादन हुने गरेको छ । वार्षिक कुल ८० मेट्रिक टन (८० हजार किलो) माछा उत्पादन भइरहेको छ । सुभाषले २०७४ सालमा पनि कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट ‘देशकै उत्कृष्ट माछा कृषक’ को उपाधि पाएका थिए । यो सम्मानसँगै उनी क्षेत्रीय र स्थानीयस्तरमा पनि दर्जनौँ पटक सम्मानित भइसकेका छन् ।

प्रतिक्रिया