Listen LIVE

पाँच रुपैयाँमा पनि बिक्दैन भिन्डी

सर्लाही : भिन्डी बिक्री हुन छाडेपछि सर्लाहीका किसान मारमा परेका छन् । यहाँको बजारमा भिन्डी प्रतिकेजी पाँच रुपैयाँमा समेत बिक्री हुन छाडेको किसानको भनाइ छ । चन्द्रनगर गाउँपालिका–२, बबरगन्जका किसान हरिप्रसाद महतोले केही दिनदेखि भिन्डी मुस्किलले प्रतिकेजी दुईदेखि पाँच रुपैयाँसम्ममा बिक्री भइरहेको जानकारी दिए । 

बबरगन्जदेखि लालबन्दी बजारसम्म ल्याउँदा पेट्रोलको खर्चसमेत नउठ्ने उनले गुनासो गरे । “दुई बोरा भिन्डी बोकेर लालबन्दी लैजाँदा दुई सय पनि आउँदैन तर त्योभन्दा बढी त मोटरसाइकलको पेट्रोल जान्छ,” महतोले भने, “योभन्दा बरु खेतमै कुहिएर जाओस् भनेर भिन्डी टिप्नै छाडेँ ।” 

१० कट्ठा खेतमा भिन्डी लगाएका महतोले सुरुमा प्रतिकेजी २० रुपैयाँसम्ममा बिक्री गरेको भए पनि अहिले दुईदेखि पाँच रुपैयाँ भाउ भएपछि मार परेको गुनासो गरे । सर्लाहीमा जिल्लाभरका किसानले लालबन्दी थोक तरकारी बजार डुमडुमेमा ल्याएर तरकारी बिक्री गर्ने गरेका छन् । 

ईश्वरपुर नगरपालिका–१०, बेलामा व्यावसायिक तरकारी खेती गर्दै आएका किसान दयाराम कुशवाहाले बोडीपछि अहिले भिन्डी बिक्री हुन छाडेको जानकारी दिए । चर्को घाममा महँगो विषादी र मल प्रयोग गरेर उत्पादन गरेको तरकारीले भाउ नपाउँदा जाँगर नै हराएको उनको भनाइ छ । 

तरकारीको बजार भाउले किसानलाई निराश बनाएको कुशवाहले बताए । “पाँच रुपैयाँ केजीमा पनि तरकारी नबिक्दा किसानलाई जति पीडा अहिले कसैलाई छैन,” उनले भने, “हामी किसानको मेहेनत र लगानी त्यसै खेर गएको छ ।” 

भिन्डी बिक्री नभएपछि बिहीबार बिहान लालबन्दीमा केही किसानले बजारमै तरकारी फालेर नाराबाजी गरेका थिए । लालबन्दी नगरपालिका–११, हिरापुरका किसान सिकिन्द्र महतोले भिन्डी बिव्रmी नभएपछि बजारमै फालेर घर फर्किएको बताए । 

आफूले त्यही दिन नै खेतको भिन्डी फालेको महतोले बताए । “बिक्री नभएर घरमा नै फर्काएर ल्याउनुपर्ने भएपछि मैले पाँच कट्ठाको भिन्डी ट्याक्टर लगाएर जोतिसकेँ,” उनले भने, “किसानको यस्तो अवस्था हुँदा पनि पालिका, प्रदेश र सङ्घ सरकार कसैलाई पनि वास्ता छैन ।” 

लालबन्दी कृषि थोक तरकारी बजारका अध्यक्ष प्रमोद थपलियाले अहिले बजारको मागभन्दा बढी भिन्डी उत्पादन भएकाले बिक्री हुन नसकेको बताए । सर्लाहीबाट तरकारी निकासी हुने काठमाडौँ, पोखरालगायतका ठुला बजारमा निर्यात नै नहुँदा स्थानीय बजारमा भिन्डी बिक्री हुन नसकेको थपलियाको भनाइ छ । थपलियाले बिहीबार किसानले बिक्री गर्न नसकेको भिन्डी मानव सेवा आश्रममा लगेर दिएको बताए ।

प्रतिक्रिया