बर्दिया : गुलरिया नगरपालिका वडा ४ तुल्सीपुरका हिमनाथ योगीले नीजि वन मासेर केरा खेती शुरु गरेका छन् । उहाँले १० वर्ष अगाडि एक विघा जग्गामा लगाएको सागुन र लिप्टिस बगैँचा मासेर केरा खेती शुरु गरेका हुन् ।
राम्रो आम्दानी हुने देखिएपछि बर्दियामा केरा खेती गर्ने किसान बढ्दै गएका छन् । योगीजस्तै बर्दियामा अरु खेती छोडेर केरा खेती गर्ने किसान बढ्दै गएका छन् । गत वर्षदेखि केराले राम्रो मुल्य पाउन थालेपछि बर्दियाका किसान केरा खेतीतर्फ आकर्षित भएका हुन् । योगीका अनुसार अहिले आफ्नो गाउँमा चारजना किसानले सगुनको बगैँचा मासेर केरा खेती गर्न थालेको छन् ।
केरा व्यवसायी संघ बर्दियाका अध्यक्ष टोपलाल बिकले यस वर्ष बर्दिया जिल्लाभरी ५० हेक्टर क्षेत्रफलमा केरा खेती थपिएको बताए । उनले गत वर्षको तुलनामा यस वर्ष केराको दर राम्रो भएको हुनाले केरा खेती गर्ने किसानहरू पनि बढ्दै गएको बताए ।
'गत वर्षको सिजनमा दशैँ—तिहारसम्म पनि केरा बिक्री राम्रो भएको थिएन । भारतबाट केरा आयात बन्द भएपछि केराको माग र मूल्य बढेको छ । उनले भने, 'माग बढेसँगै केरा खेती गर्ने किसान पनि बढेका छन् ।' बर्दिया जिल्लाभरी ६ सय ५० किसानले आठसय हेक्टर क्षेत्रफलमा केरा खेती गरेको उनले बताए ।
बर्दिया जिल्ला केरा खेतीमा आत्मनिर्भर भएको छ । सरकारले केरा खेतीलाई प्रोत्साहन गर्नका लागि बर्दियाका गुलरिया, मधुवन र बाँसगढी नगरपालिकाका १७ वटा वडामा केरा जोन कार्यक्रम लागु गरेको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमले आर्थिक वर्ष २०७८/७९ मा केरा जोन लागु गर्दा दुईसय ६९ हेक्टर क्षेत्रफलमा केरा खेती सुचिकृत भएको थियो ।
गत आर्थिक वर्षमा चारसय १० हेक्टर केरा खेती सुचिकृत भएको छ । केरा जोन घोषणा गरिएको अनुदानका लागि सुचिकृत भएको तथ्याङ्क मात्र कार्यालयमा भएको हुनाले जिल्लाभरी केरा खेती गर्ने क्षेत्रफल र किसान धेरै भएको कार्यालयका प्रमुख बिरेन्द्रराज पराजुलीले बताए । केरा जोन कार्यक्रममा पाँचवटा सहकारी, ३५ वटा कृषि उद्यम र एक कम्पनी गरी ४१ वटा लाभग्राही सुचिकृत भएको बताए । बर्दियामा प्रतिहेक्टर ५०—७५ मेट्रिक टन केरा उत्पादन हुँदैआएको कार्यालय प्रमुख पराजुलीले बताए ।
केरा जोन कार्यक्रम अन्तर्गत कार्यालयले निःशुल्क प्राविधिक सहयोग गर्दैआएको छ । त्यसैगरी यान्त्रीकरण, सिँचाइ, बिरुवा, बजारीकरण, केरा पकाउने चेम्बर स्थापना र कृषि चुन लगायत माटो सुधारका लागि ५० प्रतिशत अनुदान दिँदैआएको छ । अनुदान रकमले केरा खेती बिस्तारका लागि सहज भएको गुलरिया नगरपालिका वडा ४ प्रगतिटोलका किसान विष्णुप्रसाद भट्टराईले बताए । उनले अनुदानलाई थप प्रभावकारी बनाउनु पर्ने बताउँदै नयाँ किसानलाई जोड्न कार्यालयले भूमिका खेल्न नसकेको दाबी गरे ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार